काठमाडौं । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व, २०८३ को सार्वजनिक बिदाको समयमा हुनसक्ने साइबर फ्रड तथा अनलाइन ठगीका घटनालाई मध्यनजर गर्दै कडा सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एक सूचना जारी गर्दै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्न विशेष व्यवस्था मिलाउन भनेको छ।
पर्वको समयमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाहरूको कारोबार विवरण समयमै उपलब्ध गराउन, शंकास्पद खाता तथा कारोबारको तत्काल पहिचान गरी रोक्का राख्न र समग्र अनुसन्धान प्रक्रियालाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई एक जिम्मेवार सम्पर्क व्यक्ति तोक्न निर्देशन दिइएको छ। संस्थाहरूले तोकिएका फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा (२४/७) अनुगमन हुने ड्युटी इमेल ठेगाना (Duty/On-call Email ID) नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगाना [email protected] मा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
चाडपर्वका बेला डिजिटल कारोबार बढ्ने र यसैको मौका छोपी आपराधिक गतिविधि तथा अनलाइन ठगीका घटनाहरू हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै राष्ट्र बैंकले सुरक्षा निकायसँगको समन्वयलाई थप मजबुत बनाउन यो कदम चालेको हो ।





