RE
Global College

गुर्जुधारा यातायात कार्यालयले उठायो करिब २ अर्ब ६० करोड राजस्व, बजेट खर्चमा सुधार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (गुर्जुधारा) ले आर्थिक वर्ष २०८२/८३ मा बजेट कार्यान्वयन र राजस्व सङ्कलन दुवैतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्चको दर बढ्नुका साथै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको कार्यालयको वित्तीय प्रगति विवरणले देखाएको छ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित चालु तथा पुँजीगत दुवै बजेट उच्च दरमा खर्च गर्न सफल भएको छ। यस वर्ष चालुतर्फ विनियोजित कुल ५ करोड ६४ लाख १२ हजार ४६२ रुपैयाँ बजेटमध्ये ५ करोड ३६ लाख ३१ हजार ५८ रुपैयाँ अर्थात् ९५.०७ प्रतिशत खर्च भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चालु खर्च ८४.६६ प्रतिशत (५ करोड ४७ लाख २४ हजार बजेटमा ४ करोड ६३ लाख ३३ हजार ९८६ रुपैयाँ खर्च) रहेको थियो। यसैगरी, पूर्वाधार तथा विकास निर्माणतर्फ पुँजीगत शीर्षकमा विनियोजित १ करोड ६५ लाख ५८ हजार ५०० रुपैयाँ बजेटमध्ये १ करोड ६१ लाख ४४ हजार ९४१ रुपैयाँ अर्थात् ९७.५ प्रतिशत खर्च सम्पन्न भएको छ। अघिल्लो वर्ष पुँजीगत खर्च ५७.८० प्रतिशत मात्र रहेकोमा यस वर्ष वित्तीय तथा भौतिक प्रगतिमा उल्लेख्य सुधार आएको पुष्टि हुन्छ।

बजेट कार्यान्वयनका साथै राजस्व सङ्कलनको क्षेत्रमा पनि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा यातायात क्षेत्र तथा विभिन्न सेवा शुल्कबापत कार्यालयले कुल २ अर्ब ५९ करोड १३ लाख ७६ हजार २९२ रुपैयाँ ९२ पैसा राजस्व सङ्कलन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कुल राजस्व २ अर्ब २३ करोड ३७ लाख ३ हजार ६५८ रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष राजस्व आम्दानीमा ठूलो छलाङ आएको छ।

यस वर्ष सङ्कलन भएको कुल राजस्वमा सवारी साधन कर शीर्षकबाट ९१ करोड १ लाख ३८ हजार २११ रुपैयाँ ९० पैसा र सवारी दर्ता किताब सम्बन्धी दस्तुर शीर्षकबाट पनि सोहीबराबर अर्थात् ९१ करोड १ लाख ३८ हजार २११ रुपैयाँ ९० पैसा राजस्व आम्दानी भएको छ। यस्तै, यातायात क्षेत्रको अन्य आम्दानी शीर्षकबाट १ करोड ५७ लाख ९६ हजार ८१६ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत ८० हजार ३५० रुपैयाँ राजस्व दाखिला भएको विवरणमा उल्लेख गरिएको छ। समग्रमा, बजेटको शतप्रतिशत नजिकको खर्च क्षमता र अरबौँ रुपैयाँको राजस्व प्राप्तिले यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (गुर्जुधारा) को प्रशासनिक दक्षता, वित्तीय अनुशासन र सेवा प्रवाहको प्रभावकारितालाई उच्च स्तरमा कायम राखेको प्रस्ट पार्दछ।

NECO

Leave Your Comment

Related News