काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा (साउन–भदौ) १७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको भदौसम्म १७ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८२/८३ को भदौसम्म वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ।
२० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले हिमालयन बैंक पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ।
यस अवधिसम्म ग्लोबल बैंकले १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ४.०७ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २२ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३५.८३ प्रतिशतले बढेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ३२ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ०.९१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ। यो बैंकले ३५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।






