RE
Global College

जापानका प्रस्तावित राजदूत थापाले भने : पीआर त्यागिसकेँ, स्वार्थ बाझिने काम गर्दिनँ

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागिसकेको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले जापानमा रहेका नेपालीलाई सहज, सम्मानपूर्ण र समयमै कन्सुलर सेवा उपलब्ध गराउन प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् ।

सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानको पीआर, परिवारको बसोबास, सम्पत्ति तथा व्यावसायिक सम्बन्धबारे प्रश्न उठाएका थिए । जवाफमा उनले जापानस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफूले पीआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयमा पठाइसकेको स्पष्ट पारे ।

थापाले जापानमा आफ्नो कुनै कम्पनी नरहेको दाबी गर्दै राजदूतमा अनुमोदित भएमा कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताए । उनले आफ्नो परिवार जापानमा बसोबास गरे पनि श्रीमती र दुई छोराको नागरिकता नेपाली नै रहेको उल्लेख गरे ।

‘मेरो श्रीमती र दुई छोरा जापानमा बस्छन् । उनीहरूको नागरिकता नेपाली नै छ । हामी कहिल्यै नेपालबाट भावनात्मक रूपमा टाढा भएका छैनौँ,’ उनले भने ।

जापानमा रहेको घरबारे उठेका प्रश्नको जवाफ दिँदै थापाले उक्त घर श्रीमतीको नाममा रहेको बताए । कानुनी रूपमा काम गरेर कमाएको पैसाले घर किन्न पाउने उल्लेख गर्दै उनले यसमा आफ्नो कुनै व्यावसायिक स्वार्थ नरहेको दाबी गरे ।

पीआर त्यागेको समयबारे सांसदहरूको प्रश्न

सुनुवाइका क्रममा सांसद पद्मा अर्याल, मधु चौलागाईं र राजीव खत्रीलगायतले थापाको पीआर त्यागेको समय र राजदूत नियुक्तिसम्बन्धी मापदण्डबारे प्रश्न उठाएका थिए ।

सांसदहरूले पीआर त्यागेको व्यक्तिको नेपाली नागरिकताको अवस्था, विदेशी स्थायी आवासीय अनुमति त्याग्नुपर्ने समयसीमा तथा नियुक्तिसम्बन्धी निर्देशिकाको व्यवस्थाबारे स्पष्ट पार्न माग गरेका थिए । पीआर त्यागेको करिब छ महिना मात्रै भएको अवस्थामा निर्देशिकामा उल्लेखित १० वर्षसम्बन्धी व्यवस्थाको सान्दर्भिकताबारे पनि प्रश्न गरिएको थियो ।

सांसद चौलागाईंले प्रस्तावित राजदूतको नियुक्तिमा आपत्ति नभए पनि नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र नियुक्तिसम्बन्धी कानुनी व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

जवाफमा थापाले विगतमा पनि जापानसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न आफूले काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन योगदान गर्ने बताए ।

‘मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो,’ उनले भने ।

जापानमा नेपालीको संख्या बढेसँगै कन्सुलर सेवा विस्तार गर्ने योजना

थापाले जापानमा नेपालीको संख्या बढ्दै जाँदा कन्सुलर सेवाको मागसमेत बढेको बताए । उनका अनुसार जापानमा हाल ३ लाख ९९२ नेपाली बसोबास गरिरहेका छन्, जसमध्ये १ लाख १६ हजार विद्यार्थी छन् ।

उनले सन् २००५ देखि जापानमा रहेका नेपालीको संख्या उल्लेख्य रूपमा बढेको तथ्य प्रस्तुत गर्दै यस वर्षको संख्या त्यसबेलाको तुलनामा ४३ गुणाले बढेको जानकारी दिए ।

नेपालीको संख्या बढे पनि दूतावासमा जनशक्ति र पूर्वाधार पर्याप्त नरहेको उनको भनाइ थियो । त्यसैले सेवाग्राहीको समस्या छिटो समाधान गर्ने, गुनासो दर्ता तथा सुनुवाइको स्पष्ट व्यवस्था गर्ने र टोकियोबाहिर रहेका नेपालीलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने योजना उनले प्रस्तुत गरे ।

‘सहज, सम्मानपूर्ण र समयमै सेवा पहिलो प्राथमिकतामा छ,’ थापाले भने ।

उनले जापानमा रहँदा नेपालको हितमा काम गरेको अनुभवलाई उपयोग गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार, विकास सहायता वृद्धि र नेपाली नागरिकको हित संरक्षणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि जनाए ।

NECO

Leave Your Comment

Related News