RE
Global College

झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना

काठमाडौं । आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्याैपानेले बिहीबार जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई अर्थात् आङबाबु राईको नामबाट उजुरी दिएका थिए।

उक्त उजुरीमा नेपाल प्रहरी मातहतका एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले पदको दुरुपयोग गर्दै मुद्दा मिलाइदिने भन्दै ४० लाख रुपैयाँ माग गरेको, जसमध्ये १५ लाख रुपैयाँ नगद लिएको र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेकसमेत लिएको आरोप लगाइएको थियो। साथै, रकम माग गर्दै धम्की दिएको दाबी पनि उजुरीमा गरिएको थियो।

तर, अनुसन्धानका क्रममा उजुरीमा नाम उल्लेख भएका आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको भनी बयान दिएका थिए। त्यस्तै, पुन मगरले २०८३ असार १७ गते आयोगसमक्ष बयान दिँदै उक्त उजुरी आफूले नै एबी राई अर्थात् आङबाबु राईको नामबाट दिएको स्वीकार गरेका थिए।

आयोगका अनुसार अनुसन्धानका क्रममा पुन मगर र आङबाबु राई दुवैले त्यस्तो कुनै घटना नभएको, आफूलाई कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकम नमागिएको भनी बयान दिएका थिए।

उजुरीकर्ताकै जानकारी तथा स्वीकृतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरी उजुरी दर्ता गराएको तथा सम्बन्धित व्यक्तिलाई दुःख, हैरानी दिने बद्नियतले झुट्टा उजुरी दिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ।

NECO

Leave Your Comment

Related News