RE
Global College

क्यानडाको सैन्य तालिम केन्द्रमा आगलागी : चार सैनिकको मृत्यु, ३९ जना घाइते

काठमाडौं । क्यानडाको अलबर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने दर्जानौँ घाइते भएका छन्। ओटावाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मार्क कार्नीले यो घटनालाई शान्तिकालमा क्यानेडियन सेनाले भोगेका ठूला त्रासदीमध्ये एक भएको बताएका छन्।

स्थानीय समय अनुसार शनिबार अपरान्ह क्यानेडियन फोर्सेज बेस वेनराइट सैन्य तालिम केन्द्रमा आगलागी सुरु भएको थियो। आगलागीलाई नियन्त्रणमा लिइसकिएको छ भने यसको स्पष्ट कारण अझै खुल्न सकेको छैन। अधिकारीहरूले यो घटना आतङ्ककारी गतिविधिसँग जोडिएको कुनै सङ्केत नरहेको जनाएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्नीले भने, ‘देशले वीर सैनिकहरू गुमाएकोमा सम्पूर्ण राष्ट्र शोकमग्न छ।’

मृत्यु हुनेहरूमा सर्जेन्ट मोर्गन वोङ, प्राइभेट सन फ्यारेल, प्राइभेट एडन गुल्डिङ र प्राइभेट हेडेन लिक्केमार्क रहेका छन्। अस्पतालमा उपचाररत ३९ जना घाइतेहरूमध्ये कम्तीमा १९ जनाको अवस्था गम्भीर रहेको अलबर्टाकी प्रिमियर ड्यानिएल स्मिथले जानकारी दिएकी छन्। तालिम केन्द्रको एउटा दायरामा सैनिकहरूले प्रत्यक्ष गोलाबारुदसहित लडाइँको तालिम गरिरहेका थिए। सोही क्रममा करिब एक किलोमिटर टाढा घाँसमा सल्केको आगो तीव्र हावाका कारण फैलिएर तालिम भइरहेको क्षेत्रतर्फ बढेको सैन्य अधिकारीहरूले बताएका छन्। घाइते हुनेहरूमा ‘प्रिन्सेस प्याट्रिसियाज क्यानेडियन लाइट इन्फ्यान्ट्री’ का सैनिक तथा रिजर्भिस्टहरू रहेका छन्।

घटनालगत्तै स्थानीय अस्पतालहरूमा शतर्कता अपनाइएको थियो भने घाइतेहरूलाई हेलिकप्टर र एम्बुलेन्समार्फत अलबर्टाका विभिन्न अस्पतालहरूमा पुर्‍याइएको थियो। उद्धार तथा उपचार कार्यमा दर्जनौँ एम्बुलेन्स तथा वायु सेवा तैनाथ गरिएको छ। सैन्य अधिकारीहरूले घटनाको थप अनुसन्धान जारी रहेको जनाएका छन्।

NECO

Leave Your Comment

Related News