काठमाडौं । दसैँको मुखमा आफ्नै सवारीसाधनमा गाउँघर जाने र चाडपर्वका अवसरमा पूजाआजा तथा नयाँ/पुरानो सवारी खरिदबिक्री गर्नेहरू बढेपछि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा सवारी नामसारी गर्नेहरु बढेको छ ।
कार्यालयका अनुसार गत असोज १९ गतेदेखि २७ गतेसम्मको ९ दिनको अवधिमा मात्रै कुल ८ हजार ५ सय २६ वटा मोटरसाइकल तथा स्कुटरको नामसारी भएको छ। उक्त ९ दिनको अवधिमा नामसारीसहितका सेवाबाट कार्यालयले १२ करोड ९० लाख ५८ हजार ३ सय ३४ रुपैयाँ संकलन गरेको छ।
यातायात व्यवस्था कार्यालय गुर्जुधाराका सूचना अधिकारी गोविन्द शिवाकोटीका अनुसार दसैँको समयमा विभिन्न कम्पनीहरूले ल्याउने आकर्षक अफर, ठूलो चडपर्वको अवसरमा नयाँ वा पुरानो सवारी खरिद गरेर पूजाआजा गर्ने परम्परा र आफ्नै सवारीसाधनमा सहज रूपमा गाउँघर जानेको कारण सवारी नामसारी गर्नेको संख्या उल्लेख्य बढेको हो।
यसैगरी, चालु आर्थिक वर्ष २०८३ को असोज महिनाको सुरुदेखि (असोज १ गतेदेखि २७ गतेसम्म) को अवधिमा कुल १९ हजार १ सय ६२ वटा सवारी साधनको नामसारी भइसकेको छ।
दसैँको किनमेल र व्यापारिक गतिविधि बढेसँगै कार्यालयको समग्र राजस्व संकलनमा पनि ठूलो वृद्धि देखिएको छ। १ असोज २७ गतेसम्मको अवधिमा मात्रै गुर्जुधारा कार्यालयले कुल ८७ करोड १८ लाख ४० हजार १९० रुपैयाँ राजस्व आम्दानी गरेको छ।
चाडपर्वको समयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले सेवा प्रवाहलाई चुस्त र सहज बनाउन विशेष व्यवस्थापन मिलाएको सूचना अधिकारी शिवाकोटीले जानकारी दिए।




