RE
Global College

खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै महिला किसान

रुपन्देही । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिए ।

‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छाैँ, अध्यक्ष शाहले भने, ‘यो वर्षको दसैँ–तिहारमा एक हजार ५०० खसी–बोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी–बोका उत्पादनमा वृद्धि भएको अध्यक्ष शाहको भनाइ छ । किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए ।

गाउँमा महिला समूहमा आबद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनीहरु मुक्त भएको अध्यक्ष शाहले बताए । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारमा उल्लेख्य सङ्ख्यामा खसी बोका बिक्री गरेर चाडपर्व मनाउने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताए ।

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसी–बोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसी–बोका बिक्री हुँदै आएका छन् ।

प्रबन्धक गुरुङका अनुसार अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको छ । हाल सहकारी आबद्ध किसानसँग रु ६०० प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु ५० प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार ५० किसान महिला सदस्य रहेकामा करिब छ सयले बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसी–बोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताए ।

NECO

Leave Your Comment

Related News