काठमाडौं । दसैँ पर्वमा महिषासुरको प्रतीक मानिने ठूलो राँगोलाई दौडाएर मनाइने ‘खम्ये’ जात्रा मंगलबार साँझ सम्पन्न भएको छ।
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार यो वर्षको जात्रा अन्य वर्षको तुलनामा चाँडै सम्पन्न भएको हो। भक्तपुरको नवदुर्गा द्योछें ९देवता घर०मा पालेर राखेको निख्खर कालो रङको राँगोलाई भक्तपुरको बह्मायणीसम्म दौडाएर जात्रा मनाइएको हो।
नवदुर्गा घरमा राखिएको खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योछेंबाट दौडाएर ब्रह्मायणी पीठसम्म पु¥याइन्छ र नवदुर्गालाई आजै राति बलि चढाइन्छ। भक्तपुरको तलेजु भवानीसँग सम्बन्धित यस जात्राले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई जीवन्त बनाउँदै आएको स्थानीयको भनाइ छ।
दसैँको महानवमी तथा विजयादशमीको अवसरमा मनाइने खम्ये जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो। यस जात्रामा खम्ये अर्थात् ठुलो राँगोलाई विशेष धार्मिक विधिअनुसार पूजा गरी जात्रा सञ्चालन गरिन्छ।
तलेजु भवानीको धार्मिक परम्परासँग जोडिएको यस जात्रामा स्थानीयवासी तथा श्रद्धालुको सहभागिता रहने गर्छ । जात्रा हेर्न खम्ये दौडाउने बाटोभरि हजारौँको भिड लागेको देखिएको थियो।
भक्तपुरका परम्परागत जात्रा तथा पर्वहरूले यहाँको सांस्कृतिक पहिचानलाई जोगाउनाका साथै पुस्तान्तरण गर्दै आएका छन्। खम्ये जात्रा पनि धार्मिक विश्वास, परम्परागत विधि र सामुदायिक सहभागिताको प्रतीकका रूपमा रहँदै आएको छ। खम्ये जात्रा सम्पन्न भएसँगै भक्तपुरमा दसैँसँग सम्बन्धित महत्वपूर्ण सांस्कृतिक गतिविधिमध्ये एक पूरा भएको छ।




