RE
Global College

परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्।

विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले बताएका छन्। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामना मान्यजनहरूले गर्ने र आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजनहरूकहाँ समेत मानिसहरू खोजीखोजी पुग्ने गरेको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहका अनुसार विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ।

‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले सन्देशमा भनेका छन्, ‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ।’ उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्।

यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिने उनले बताएका छन्। प्रधानमन्त्री शाहले आ-आफ्नो ठाउँबाट क्षमता अनुसार विजयादशमी मनाउन र आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आह्वान गरेका छन्।

NECO

Leave Your Comment

Related News