काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ मा गरिएको प्रतिबद्धताअनुसार नागरिकताको प्रतिलिपि लिन सहज बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। काठमाडौं उपत्यकामा अन्य जिल्लाका नागरिकको चाप बढ्न सक्ने भएकाले गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिलाई सेवा दिनेछ। त्यस्तै, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ। तर प्रणालीमा अभिलेख नभेटिएमा, नाम, थर, जन्ममिति वा अन्य विवरण साविकको नागरिकताभन्दा फरक पारेर प्रतिलिपि लिन खोजिएमा वा नागरिकता शंकास्पद देखिएमा भने नागरिकता लिएको पुरानै जिल्लामा सम्पर्क गर्नुपर्नेछ।




