Global College

स्पेनमा रेल दुर्घटनामा परी ६८ जनाको मृत्यु भएपछि तीन दिनको राष्ट्रिय शोक

काठमाडौं । स्पेनमा भएको  एक भयानक रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ। उद्धार टोलीले शक्तिशाली फ्लडलाइट को सहयोगमा रातभर भग्नावशेष र धातुका डब्बा काटेर पीडितहरूको खोजी गरेका थिए भने दुर्घटनामा ज्यान गुमाएका धेरैको पहिचान हुन बाँकी छ।

मड्रिडबाट सेभिल्तर्फ जाँदै गरेको रेल बुधबार बिहान रुटमा रोकिएको अर्को रेलमा ठोक्किएर भएको यस दुर्घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रधानमन्त्री पेड्रो साञ्चेजले “सम्पूर्ण स्पेन शोकमा डुबेको” बताउँदै जीवनहरू नस्ट भएका र परिवारहरू उजाडिएकाले पीडा अपार रहेको व्यक्त गरेका छन्।

स्पेनको गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा सहयोग गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिएका छन् भने पीडितको खोजी र मलबा हटाउन ड्रोन तथा हेलिकप्टरहरूको प्रयोग गरिएको छ। स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेका अनुसार निजी रेल अपरेटर ‘इरियो’ द्वारा सञ्चालित रोकिएको उक्त रेलमा १४७ जना यात्रु सवार थिए र कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण सो रेल लिकमा रोकिएको थियो।

सिस्टम फेल हुँदा मड्रिडस्थित २४ घण्टा सञ्चालन हुने कन्ट्रोल सेन्टरले जिम्मा लिने भए पनि बिना कुनै गति सीमा रेलहरूलाई पुन: चलाउन निर्देशन दिने “अव्याख्यात्मक” निर्णय सोही सेन्टरबाट भएको मन्त्रीले बताए। मड्रिडस्थित ट्रेन कन्ट्रोलर र ट्रेन चालकहरूबीचको अडियो रेकर्डिङले अगाडि अर्को रेल रोकिएको अवस्थामा पनि एउटा तीव्र गतिको रेललाई अगाडि बढ्न अनुमति दिइएको देखाएको छ।

इरियोले स्पेनको राज्य-स्वामित्वको रेल्वे कम्पनी ‘रेनफे’ द्वारा सञ्चालित र ३९७ यात्रु बोकेको अर्को रेलले आफ्नो रेललाई “पछाडिबाट ठक्कर दिएको” जनाएको छ। सो ठक्करको तीव्र गतिका कारण धेरै डिब्बाहरू ढिस्कोबाट तल खसेका थिए।

घटनास्थलमा मानिसहरू रोएको र रगत बगेको, यात्रुहरू सिटमा च्यापिएको तथा डिब्बाभित्र धुवाँ फैलिएको र एउटा डिब्बामा त आगोसमेत लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रधानमन्त्री साञ्चेजले यस वर्ष जनवरीमा कोर्डोबानजिक भएको उच्च गतिका रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको स्मरण गर्दै स्पेनले यस वर्ष दुईवटा गम्भीर रेल दुर्घटना बेहोर्नु “अस्वीकार्य” भएको बताएका छन्। उक्त दुर्घटना पनि बुधबारको घटना भएको लाइनमै तर दक्षिणतर्फ भएको थियो।

यस दुर्घटनापश्चात अधिकांश राजनीतिक दलहरूले आगामी निर्वाचनका लागि तय गरिएका प्रचारप्रसारका कार्यक्रमहरू स्थगित गरेका छन्।

एजेन्सी

NECO

Leave Your Comment

Related News