काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्ससामु ११६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँ गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो। काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रनको योगदान दिए। यस्तै रसिद खानले १७ रन, स्मित पटेलले १३ रन र सुमित महर्जनले १० रन जोडे।
जनकपुर बोल्ट्सका बलरहरूले कसिलो बलिङ गर्दै काठमाडौँलाई सस्तैमा समेट्न सफल भए। जनकपुरका तर्फबाट राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने सैफ हसनले २ विकेट हात पारे। यस्तै मोइन अली, हरमीत सिंह र ललित राजवंशीले १-१ विकेट लिए।
११६ रनको विजय लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।



