काठमाडौं । मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्ता सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको हो । सरकारले आपसी संवादका माध्यमबाट यस विषयलाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान, प्रचलित कानुन, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर सरकारले यस विषयमा संवाद गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
श्रमिकको दीर्घकालीन हित संरक्षणका लागि नेपालको संविधान, कानुनी व्यवस्था र श्रम समझदारीविपरीतका प्रणाली तथा पद्धति उपयुक्त नहुने मन्त्रालयको भनाइ छ ।
नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित र पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले नेपाली श्रमिकको भर्ना प्रक्रियालाई निष्पक्ष बनाउन उपयुक्त प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । नेपाल तथा मलेसिया दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्यविना फैलाइने सूचनाले नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै वस्तुगत यथार्थ स्पष्ट पारिएको जनाइएको छ ।



