काठमाडौं । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वका रहेको उपसमितिको बिहीबार बसेको बैठकले कार्यदेश स्वीकृत गरेको छ। जसअनुसार, कात्तिक ३० गतेसम्म अध्ययनका लागि छुट्याइएको संयोजक झाले जानकारी दिए।
उनले उपसमितिले मङ्सिर १ देखि १५ गतेसम्म पोसाक खरिदमा सम्बद्ध पक्ष, विज्ञ तथा जिम्मेवार अधिकारीहरूसँग बयान, अन्तर्वार्ता र छलफल गर्ने बताए । उपसमितिको कार्यअवधि मङ्सिर २० गतेसम्म रहेकाले अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याइएको झाको भनाई छ । ‘
कात्तिक महिनाभर भने उपसमितिले आन्तरिक अध्ययन तथा अनुसन्धान गर्नेछ। कात्तिक ३० गतेसम्म पोसाक खरिदसम्बन्धी प्रमाण मगाउने छ । र सम्वन्धित अधिकारीहरुलाई बयानका लागि बोलाउने र सम्बन्धित पक्षसँग प्रश्न गरिने छ ,’ उनले भने ।
झाका अनुसार अध्ययन र अनुसन्धानअघि नै कुनै व्यक्तिले गल्ती गरेको निष्कर्ष निकाल्नु पूर्वाग्रही सोच हुने छ। उपसमितिको काम अध्ययन गरी निष्कर्ष र सिफारिससहित प्रतिवेदन तयार गर्नु मात्र रहेको उल्लेख गर्दै उनले निर्णय गर्ने अधिकार भने पूर्ण समितिमा रहने स्पष्ट पारे।
निर्वाचन प्रहरी पोशाक खरिदमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले भ्रष्टाचार गरेको आरोपसहित समितिमा उजुरी परेको थियो। उक्त उजुरी उपर छानबिन गर्न समितिले झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।
उपसमितिलाई अध्ययनको लागि दुई महिनाको समयसिमा तोकिएको छ। उपसमितिको बिहीबार बसेको दोस्रो बैठकले आवश्यक कार्यदेश स्वीकृत गरेको हो।



