काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी सञ्जयकुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
सेयर बिक्रीका लागि सञ्चालक समितिमार्फत आवेदन प्राप्त भएपछि संस्थाले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको छ । संस्थाले कात्तिक १३ गते सूचना जारी गर्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित लिखित रूपमा जानकारी गराउन आग्रह गरेको छ । यसका लागि संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका–१, लोकन्थली, भक्तपुरमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।



