Global College

पत्रकार पक्राउप्रति नेपाली काङ्ग्रेसको कडा आपत्ति

काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गम्भीर आपत्ति जनाएको छ। काङ्ग्रेसले विज्ञप्ति जारी गर्दै जनदबाबपछि रिहा गर्नुभन्दा कानुनी प्रक्रियाविपरीतको पक्राउ र मानसिक तनाव (‘ह्यारेसमेण्ट’) तुरुन्त बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ।

समाचार कक्ष (न्यूजरुम) मै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई धरपकड गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको काङ्ग्रेसको ठहर छ। विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलिएका घटना स्मरण गराउँदै काङ्ग्रेसले आज पुनः तिनै निरङ्कुश प्रवृत्ति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय भएको उल्लेख गरेको छ।

स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा उभिँदै आएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, “कुनै सञ्चार माध्यम वा पत्रकारबाट त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित संस्थागत प्रक्रियाहरू विद्यमान छन्। ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको ठाडो उल्लङ्घन हो।”

काङ्ग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम तत्काल सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

NECO

Leave Your Comment

Related News