काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो।
साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै, सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष थकालीले बैंकिङ क्षेत्रका समसामयिक मुद्दामा एसोसिएसनको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर र असुली सुधार तथा सदस्य बैंकबीच ज्ञान र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई प्राथमिकता दिने बताए।
हाल नेपालमा सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये ८ वटा राष्ट्रियस्तरका र ९ वटा क्षेत्रीयस्तरका छन्। विकास बैंकहरूले २०८३ असार मसान्तसम्म १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छन्।
विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सदस्य बैंकहरूको साझा हित प्रवर्द्धन तथा बैंकिङ क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय र सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्दै आएको छ।
एसोसिएसनले सदस्य बैंकबीच सहकार्य, समन्वय र ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै साझा समस्या समाधानका लागि विभिन्न कार्यशाला तथा कार्यक्रम आयोजना गर्दै आएको छ। सदस्य बैंकलाई प्रविधिमा आधारित सेवा तथा प्रणालीमार्फत सहजीकरण गर्ने उद्देश्यले Domestic PEPs Screening, Negative List Screening, HR MIS र Finance MIS लगायतका प्रणालीको विकास तथा सञ्चालनमा समेत एसोसिएसनले काम गर्दै आएको छ।



