Global College

कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयरपूँजी घटाएर १ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ३५ जना शेयरधनीको शेयरपूँजी घटाएर १ प्रतिशतमा कायम गरेको छ। राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले संस्थापक समूहका २५ जना र सर्वसाधारण शेयरधनी समूहका १० जनाको शेयरपूँजी कटौती गरेको हो।

नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसयता बैंकको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले गर्दै आएको छ।

व्यवस्थापन समूहले बैंकको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट) गर्दा बैंकको चुक्ता पूँजी क्षय भएको र सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएको थियो। साथै, केही शेयरधनीले चुक्ता गर्नुपर्ने शेयरपूँजीबापतको रकमसमेत अवैधानिक रूपमा चुक्ता भएको पाइएको थियो।

बैंकको कमजोर वित्तीय अवस्था र सम्पत्ति तथा दायित्वबीचको असन्तुलनलाई मध्यनजर गर्दै पुनर्संरचना प्रक्रियाअन्तर्गत सम्बन्धित शेयरधनीहरूको शेयरपूँजी घटाउने निर्णय गरिएको व्यवस्थापन समूहले जनाएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१०) को खण्ड (च) तथा (ज) र दफा ८६ बमोजिम शेयरपूँजी कटौती गरिएको हो।

यसरी घटाइएको शेयरपूँजी कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरण गर्ने प्रक्रियाका लागि कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा (२) बमोजिम सुनुवाइ हुने भएको छ। उक्त सुनुवाइ २०८३ मंसिर ९ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा तोकिएको छ।

व्यवस्थापन समूहले शेयरपूँजी कटौतीसम्बन्धी निर्णयप्रति कुनै शेयरधनीको दाबी वा विरोध भए आवश्यक प्रमाणसहित तोकिएको मितिमा सुनुवाइमा उपस्थित हुन आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News