काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा खुद नाफामा उच्च वृद्धि हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खुद नाफा २५२२ प्रतिशतले बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य सुधार आएको छ। गत वर्षको सोही अवधिमा ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यस्तै, बैंकले ५९ करोड २१ लाख १४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी र ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ रहेको छ भने अघिल्ला वर्षहरूको सञ्चित नोक्सानीका कारण वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको देखिन्छ।
निक्षेप सङ्कलन, कर्जा प्रवाह र सीडी रेसियो
चालु आवको असोज मसान्तसम्ममा बैंकको निक्षेप सङ्कलन १०.७५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको निक्षेप ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ रहेको थियो।
यसैगरी कर्जा प्रवाह ०.३३ प्रतिशतको सामान्य वृद्धि भई ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहेकाले समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशतको निकै सहज स्थितिमा रहेको छ।
प्रतिसेयर आम्दानी र खराब कर्जाको अवस्था
खुद नाफामा आएको उच्च सुधारसँगै बैंकको प्रतिसेयर आम्दानीमा लोभलाग्दो वृद्धि भएको छ। गत वर्षको असोजमा ०.५३ रुपैयाँ मात्र रहेको प्रतिसेयर आम्दानी बढेर १३.८५ रुपैयाँ पुगेको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २००.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८९ गुणा रहेको छ।
यद्यपि, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (खराब कर्जा/NPL) मा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको असोजमा ६.६३ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आवको असोजसम्ममा ८.८७ प्रतिशत पुगेको छ।



