काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा खुद नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खुद नाफा ४३.४४ प्रतिशतले बढेर ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा २२ करोड ४७ लाख रुपैयाँमा सीमित थियो।
बैंकको नाफामा सुधार आउनुमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको ठूलो गिरावट र फि तथा कमिसन आम्दानीमा भएको वृद्धि मुख्य कारण रहेका छन्। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ७४.९७ प्रतिशतले घटेर १३ करोड ५४ लाख रुपैयाँमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा ५४ करोड ११ लाख रुपैयाँ रहेको थियो। इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन मुनाफा १३५.५४ प्रतिशतले बढेर ७५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
ब्याज आम्दानी, निक्षेप सङ्कलन र कर्जा प्रवाह
चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको थियो। यस्तै, खुद फि तथा कमिसन आम्दानी ५६.९१ प्रतिशतले वृद्धि भई १९ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन २.२० प्रतिशतले बढेर १ खर्ब २६ अर्ब २५ करोड रुपैयाँ र कर्जा प्रवाह ४.९४ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
खराब कर्जा बढे पनि ब्याजदर लागतमा भारी गिरावट
बैंकको नाफा त बढेको छ, तर समयमा ऋण चुक्ता नहुने समस्या भने बढेको देखिन्छ।। कुल निष्क्रिय कर्जा गत वर्षको ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.३२ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ। यससँगै निष्क्रिय कर्जाको कभरेज रेसियो १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशतमा झरेको छ।
यद्यपि, बैंकको कोषको लागत र आधार दरमा गिरावट आएको छ। आधार दर ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत र निक्षेपको लागत ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा झरेको छ। बैंकको औसत ब्याजदर अन्तर ४.३८ प्रतिशत कायम छ।
प्रतिसेयर आम्दानी र वित्तीय सूचक
नाफा वृद्धि भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसाबाट बढेर १६ रुपैयाँ १२ पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यमा बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।



