काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबै वाणिज्य बैंकहरूले प्रकाशित गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले पहिलो तीन महिनामा कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ४५.४६ प्रतिशतको वृद्धि हो। गत आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ थियो।
विवरण अनुसार १७ वाणिज्य बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ। सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। बैंकले पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन्।
नाफा वृद्धिदरका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सबैभन्दा अगाडि छ। बैंकको नाफा गत वर्षको पहिलो त्रैमासको ४ करोड ५० लाख रुपैयाँबाट बढेर यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ। यो २५२२.४६ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्षको नाफा निकै कम रहेकाले यस बैंकको वृद्धिदरमा न्यून आधार (लो बेस) को प्रभाव पनि देखिन्छ।
कृषि विकास बैंकको नाफा पनि गत वर्षको ५७ लाख रुपैयाँबाट बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशत, सिद्धार्थ बैंकको १६२.७५ प्रतिशत र सानिमा बैंकको १३१.१३ प्रतिशतले बढेको छ।
ग्लोबल आइएमई बैंकले २४.४९ प्रतिशत, नबिल बैंकले ४५.४२ प्रतिशत र एनएमबी बैंकले २७.१२ प्रतिशत नाफा वृद्धि गरेका छन्। ठूला बैंकमध्ये नबिल र ग्लोबल आइएमईको नाफाको आकार उच्च रहे पनि वृद्धिदरका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र सानिमा बैंक अगाडि छन्।
तीन बैंकको नाफा घट्यो
पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। स्ट्यान्डर्ड चार्टर्डको नाफा २.९९ प्रतिशत, हिमालयन बैंकको ६.८४ प्रतिशत र प्राइम कमर्सियल बैंकको ५.६२ प्रतिशतले घटेको हो।
सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेकामा यस वर्ष १० करोड ७७ लाख रुपैयाँ नाफामा फर्किएको छ। यसले बैंकको वित्तीय अवस्थामा सुधार देखाए पनि अघिल्लो वर्ष घाटामा रहेको आधारका कारण नाफा वृद्धिदरलाई सामान्य प्रतिशतका आधारमा तुलना गर्नु उपयुक्त हुँदैन।

५ बैंकको वितरणयोग्य नाफा ऋणात्मक
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश वाणिज्य बैंकहरूले खुद नाफा कमाए पनि सेयरधनीहरूलाई लाभांश (बोनस) बाँड्न सक्ने क्षमता अर्थात् वितरणयोग्य नाफाको अवस्थामा भने ठूलो भिन्नता देखिएको छ। यस अवधिमा ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य नाफासहित एभरेस्ट बैंक पहिलो स्थानमा रहेको छ भने सिद्धार्थ बैंक ३ अर्ब ५७ करोड र नेपाल बैंक २ अर्ब ७५ करोड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
अर्कोतर्फ, खुद नाफा कमाए तापनि पुराना सञ्चित नोक्सानी र वित्तीय दायित्वका कारण ५ वटा वाणिज्य बैंकहरूको लाभांश बाँड्ने क्षमता भने ऋणात्मक (घाटामा) देखिएको छ। जसअनुसार सिटिजन्स बैंकको ४४ करोड ८४ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब १६ करोड, प्रभु बैंकको ६ अर्ब ७८ करोड, हिमालयन बैंकको ९ अर्ब ७९ करोड र एनआईसी एशिया बैंकको १५ अर्ब ३९ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।




