बुटवल । रुपन्देही र दोलखाबिच औद्योगिक तथा व्यावसायिक साझेदारी विस्तार गर्ने सम्भावनाबारे छलफल भएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घ र दोलखा उद्योग वाणिज्य सङ्घबिच भएको छलफलमा संस्थागत विकास, व्यवसायीका समस्या, औद्योगिक विकास र अनुभव आदानप्रदानका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरिश्वर शर्मा पौडेलले सङ्घको स्थापना, संस्थागत विकास र सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे जानकारी गराए । उनले सङ्घले उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा योगदान गर्दै आएको बताए ।
दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सनत थापाले संस्थागत विकास र कार्यसम्पादनका अनुभव सिक्न भ्रमणमा आएको बताए । उनले दोलखामा पर्यटन, जलविद्युत् र कृषिका क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्दै किवी तथा परम्परागत खाद्यान्न बालीको उत्पादन र प्रवर्द्धनमा जोड दिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले औद्योगिक तथा व्यावसायिक विकासका लागि व्यवसायीबिच एकता र सहकार्य आवश्यक रहेको बताए ।
दुवै सङ्घका पदाधिकारीले व्यवसायीका समस्या समाधान, संस्थागत सुदृढीकरण तथा दुई जिल्लाबिच व्यापार, उद्योग र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।



