Global College

जर्मनीमा युवा नेतृत्वको प्रदर्शनले लियो हिंसात्मक रूप

काठमाडौं । महँगी र सार्वजनिक सेवामा भइरहेको कटौतीको विरोधमा शनिबार ढिलो गरी मध्य फ्र्याङ्कफर्टमा विशाल प्रदर्शन हुनुका साथै लुटपाट र प्रहरीसँग हिंसात्मक झडप भएको छ। दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन साँझ परेपछि एकाएक तनावग्रस्त बनेको थियो, जसका कारण प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपको स्थिति सिर्जना भयो।

फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटनाहरू भएका छन्। पटाका, ढुङ्गा र बोतल प्रहार गरी आपत्कालीन उद्धारकर्मी तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा  प्रयोग गरेको थियो।

यसअघि युवाहरूको नेतृत्वमा रहेको ‘जेन जी रेगेल्ट’ (Gen Z regelt – जसको अर्थ “जेन जीले जिम्मा लिन्छ” हुन्छ) अभियान समूहद्वारा आयोजित प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। प्रदर्शनकारीहरूले विद्यालयहरूमा अपर्याप्त बजेट, बढ्दो जीवनयापन खर्च, सार्वजनिक खर्चमा कटौति र अनिवार्य सैन्य सेवाप्रति चिन्ता व्यक्त गरेका थिए।

जर्मनीमा भएको यो प्रदर्शन फ्रान्समा भएको यस्तै युवा नेतृत्वको आन्दोलनसँग मिलेको थियो, जहाँ शनिबार ३ लाख २० हजारभन्दा बढी मानिस सडकमा उतरेका थिए।

एएफपीका अनुसार अशान्तिको खबरपछि प्रहरीले फ्र्याङ्कफर्टको मुख्य व्यापारिक सडकको ठूलो भाग घेराबन्दी गरेको थियो। प्रहरी प्रवक्ताले शहरमा धेरैलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

फ्र्याङ्कफर्ट, म्यूनिख र बर्लिनका अधिकारीहरूले प्रदर्शनमा १८ हजारसम्म मानिस सहभागी भएको अनुमान गरेका छन्, जुन आयोजकले प्रक्षेपण गरेको संख्याको करिब आधा हो। यद्यपि, जर्मन सञ्चारमाध्यमहरूले देशभरका प्रदर्शनमा हजारौँ मानिसले भाग लिएको जनाएका छन्।

‘जेन जी रेगेल्ट’की प्रवक्ता लिना फ्रेडरिकले यो आन्दोलनले युद्ध र जबरजस्ती भन्दा पनि शान्ति र स्वतन्त्रताको वकालत गरिरहेको बताइन्। उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी लगानी गर्नुपर्नेमा जोड दिँदै अनिवार्य सैन्य सेवाको विरोध गरिन् र सामाजिक तथा आर्थिक जिम्मेवारीको न्यायोचित वितरणको माग गरिन्।

सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन साँझ ढल्किँदै जाँदा बिग्रँदै गएको थियो।

एक्स (X) मा पोस्ट गरिएको एक बयानमा फ्र्याङ्कफर्ट प्रहरीले शहरको केन्द्रमा पसलका सिसा फुटाउनुका साथै मोलोटोभ ककटेल (हातले बनाइने बम) बाट आपत्कालीन कर्मचारीहरूमाथि आक्रमण गर्नेसहितका हिंसात्मक उपद्रव भएको जनाएको छ।

त्यसपछिका विवरणहरूमा प्रहरीले एउटा हतियार पसलको सिसा पनि फुटाइएको बताएको छ। प्रहरीले एक संदिग्धलाई पक्राउ गरेपछि दुईवटा हतियार बरामद गरेको छ।

हेसे राज्यका गृहमन्त्री रोमन पोसेक (जसको राज्यमा फ्र्याङ्कफर्ट सबैभन्दा ठूलो शहरका रूपमा पर्छ) ले पहिचान गरिएका करिब १०० जना वामपन्थी उग्रवादीहरू प्रदर्शनमा घुसपैठ गरेको दाबी गरे। उनले प्रदर्शनको हिंसात्मक अन्त्यलाई शर्मनाक भन्दै फ्रान्समा देखिएको अशान्तिको पुनरावृत्ति हुन नदिन चेतावनी दिए।

पोसेकले फ्रान्समा देखिएका लुटपाट, आगजनी र प्रहरी अधिकारीहरूमाथिका आक्रमणका दृश्यहरूलाई जर्मनीले अनुसरण गर्नुपर्ने उदाहरणका रूपमा लिन नहुने बताए।

जर्मनीमा भएका यी प्रदर्शनहरू आर्थिक कठिनाइ, बिग्रँदै गएको सार्वजनिक सेवा र सरकारी नीतिको विरोधमा युरोपभर फैलिएको जनप्रदर्शनको एउटा हिस्सा हुन्।

फ्रान्समा महँगी र सार्वजनिक सेवा (विशेष गरी शिक्षा) मा रहेका कमीकमजोरीहरूलाई सम्बोधन गर्न माग गर्दै लगातार तेस्रो सप्ताहन्तमा विभिन्न शहरहरूमा ३ लाख २० हजारभन्दा बढी मानिसहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

शान्ति सुरक्षा कायम राख्न देशभर हजारौँ प्रहरी परिचालन गरिएको थियो। केही स्थानमा सुरक्षा निकायले अश्रुग्यास प्रयोग गरेका थिए भने तुलुज, लियोन र मार्सेमा भएको झडपका क्रममा ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका थिए।

फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले मोलोटोभ ककटेल लागेर एक प्रहरी अधिकारी घाइते भएको बताएका छन्। यसैबीच, पेरिस प्रहरीले सयौँ उपद्रवीहरूले सुरक्षाकर्मीहरूमाथि ढुङ्गामुढा तथा विभिन्न वस्तु प्रहार गरी आक्रमण गरेको जनाएको छ।

इटालीको रोम र टुरिनमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको खबर प्राप्त भएको छ।

पोर्चुगलमा प्रस्तावित भाडा कानूनको विरोधमा हजारौँ मानिस सहभागी भएको प्रदर्शनपछि प्रहरीले नयाँ स्थापित टेन्ट क्याम्प हटाएको छ। प्रदर्शनकारीहरूले पछिल्लो दशकमा घरजग्गाको मूल्यमा भएको तीव्र वृद्धिका बीच प्रस्तावित उपायहरूले देशको आवास संकटलाई अझ बढाउन सक्ने तर्क गरेका छन्।

हालैका दिनहरूमा फ्रान्स, बेल्जियम, आयरल्यान्ड, स्पेन, पोर्चुगल, इटाली, ग्रीस, सर्बिया र अल्बानियासहित धेरै युरोपेली देशहरूमा युवाहरूको नेतृत्वमा प्रदर्शन फैलिएको छ, जसले आर्थिक अवस्था, सार्वजनिक सेवा र सरकारी नीतिहरूलाई लिएर युवा पुस्तामा बढ्दो असन्तोषलाई उजागर गर्दछ।

NECO

Leave Your Comment

Related News