फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायात मन्त्रीले दुर्घटनामा सवार सबैको ज्यान गएको पुष्टि गरेका छन्।
फ्लोरिडाको पाम बीच काउन्टीस्थित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार्-आ-लागोबाट करिब १४ किमी टाढा रहेको क्रेस्टहेभन नजिकै स्थानीय समयअनुसार दिउँसो १२:५० बजे दुर्घटना भएको हो।
दुर्घटनापछि सार्वजनिक तस्बिरहरूमा आवासीय सडकमा ठुलो खाल्डो परेको देखिन्छ। लियरजेट ६० मोडलको उक्त विमानका टुक्राहरू, फुटेका कङ्क्रिट र आगोका झिल्काहरू चारैतिर छरिएका छन्।
विमान टेक्ससको अस्टिनबाट बाहामासतर्फ उडेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको वक्तव्यमा उल्लेख छ। अमेरिकी सञ्चारमाध्यम र उडान विश्लेषणका अनुसार दुर्घटनाअघि विमान प्रतिसेकेन्ड सयौँ फिटको गतिमा तल खसिरहेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक दृश्यमा एउटा गाडीको ड्यासबोर्ड क्यामेराले दुर्घटनाको क्षण कैद गरेको देखिन्छ। गाडी आवासीय सडकमा गुडिरहेका बेला अचानक एउटा विमान ठाडो रूपमा जमिनमा बजारिन्छ र ठुलो आगोको गोलामा परिणत हुन्छ।
पाम बीच काउन्टी प्रहरी कार्यालयका अनुसार व्यापारिक प्रतिष्ठान र रेस्टुरेन्टहरू रहेको छ लेनको ‘मिलिटरी ट्रेल’ सडकमा विमान खसेको हो।
पत्रकार सम्मेलनमा गभर्नर डिसेन्टिस र स्थानीय अधिकारीहरूले दुर्घटनास्थल नजिकै रहेको ट्रेलर-पार्क बस्तीका छ सय जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।



