Global College

युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास

किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ। एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको खतरा रहेको झुटा सन्देश प्रवाह भएको युक्रेनी वायुसेनाले जनाएको हो।

टेलिग्राममा सन्देश जारी गर्दै वायुसेनाले भनेको छ, ‘एयर अलार्म एप्लिकेसनमा शत्रुतापूर्ण हस्तक्षेप भएको छ। त्यहाँ कुनै विकीरणको खतरा छैन। शान्त रहनुहोस् र हाम्रो च्यानलमा आउने अद्यावधिक सूचनाहरू पछ्याउनुहोस्।’

युक्रेनी केन्द्रीय गुप्तचर एजेन्सीले पनि टेलिग्राममार्फत एपमा प्राविधिक गडबडी आएको पुष्टि गरेको छ। हावाइ हमलाको खतराबारे सही जानकारी लिन अन्य आधिकारिक माध्यमहरूको प्रयोग गर्न एजेन्सीले सर्वसाधारणलाई आग्रह गरेको छ।

युक्रेनी भाषामा स्थानीय समयअनुसार राति करिब २२:४७ बजे पहिलो चेतावनी सन्देश पठाइएको थियो। जसमा ‘विकीरणको खतरा, किभमा विकीरणको खतरा घोषणा गरिएको छ’ भनिएको थियो। त्यसको लगत्तै २२:४८ बजे रुसी भाषामा अर्को सन्देश आयो। जसमा भनिएको थियो, ‘नमस्ते, युक्रेनभरि आणविक सतर्कता जारी हुनेछ। चिन्ता नगर्नुहोस्, यो ओरेसनिक उडिरहेको छ।’

त्यसपछि २२:४९ बजे पुन: युक्रेनी भाषामा तेस्रो सन्देश पठाउँदै ‘रासायनिक खतरा, किभमा रासायनिक हमलाको खतरा छ, बाहिर ननिस्कनुहोस्’ भनिएको थियो। सोही मिनेटमै चौथो सन्देश जारी गर्दै किभमा सडक भिडन्त भइरहेकाले बाहिर ननिस्कन चेतावनी दिइएको थियो।

यी सन्देशहरूपछि प्रयोगकर्ताहरूका मोबाइलमा प्रत्येक चेतावनी खारेज गरिएका अलग-अलग सन्देशहरू पठाइएको थियो। युक्रेनी केन्द्रीय गुप्तचर एजेन्सीले अर्को पोस्टमार्फत एपको गडबडीका कारण लभिभ क्षेत्रका लाउडस्पिकरहरूमा पनि विकीरणको खतरासम्बन्धी सायरन बजेको जनाएको छ। एजेन्सीले विकीरणको कुनै जोखिम नरहेको स्पष्ट पार्दै स्मार्टफोनको नोटिफिकेसन अन राख्न, सायरनमा ध्यान दिन र आधिकारिक स्रोतहरू मात्र पढ्न सुझाव दिएको छ।

भिन्नित्स्या क्षेत्रकी गभर्नर नताल्या जाबोलोत्नाले ‘एयर अलर्ट’ एपमा साइबर आक्रमण भएको पुष्टि गर्दै सन्देशमा आएका लिङ्कहरूमा क्लिक नगर्न टेलिग्राममार्फत चेतावनी दिएकी छन्। युक्रेनको डिजिटल रूपान्तरण मन्त्रालयको सहयोगमा सञ्चालित यो एपले सुरक्षासम्बन्धी खतरा सुरु र अन्त्य भएको तत्काल जानकारी दिने गर्छ।

NECO

Leave Your Comment

Related News