काठमाडौं । नेपालको धितोपत्र बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी बहुआयामिक बजारका रूपमा विकास गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) ले पहल थालेको छ। बोर्डले बजारको गहिराइ र विविधीकरण गर्ने लक्ष्यका साथ नवीनतम् वित्तीय उपकरणहरू सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र अध्ययनको काम अगाडि बढाएको हो।
बोर्डबाट सार्वजनिक गरिएको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ अनुसार धितोपत्र बजारमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र , हरित ऋणपत्र (Green Bonds), पूर्वाधार ऋणपत्र, एक्सचेञ्ज ट्रेडेड फण्ड , रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट (REIT), इन्भाइट (InvIT) तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणहरूको कारोबार गराउने योजना बनाइएको छ।
यसका लागि आवश्यक कानूनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकास सम्बन्धी अध्ययन गरी कार्यान्वयनमा लैजान गठन गरिएको समितिको पहिलो बैठक सोमबार बसेको छ। बैठकले यी नवीनतम् उपकरणहरूको अवधारणा, कानूनी तथा बजार संरचना र अन्य आवश्यक प्राविधिक तयारी सम्बन्धी कार्य औपचारिक रूपमा अगाडि बढाएको छ।
समितिले Commodity Futures र Currency Derivatives जस्ता औजारहरूको समेत चरणबद्ध विकास र सञ्चालनका लागि अध्ययन गर्नेछ। नेपालको धितोपत्र बजारमा यस्ता नयाँ उपकरणहरूको विकास र सुरुआत भएसँगै बजारको बहुआयामिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा धितोपत्र बोर्डले लिएको छ।



