Global College

 कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं सिजन आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल विज्ञापन संघ  बीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा ल्ब्ँक्ष्व् ले उपाधि जित्न सफल भएको थियो । मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा समेत बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ । यस प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीहरूलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।

NECO

Leave Your Comment

Related News