Global College

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न आज सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाबारे निर्णय गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।

समितिको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बस्न लागेको हो। बैठकको मुख्य कार्यसूचीमा जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ गर्ने विषय समावेश गरिएको छ।

यसअघि समितिले थापाको सुनुवाइ प्रक्रिया स्थगित गर्दै निर्णयलाई ‘होल्ड’मा राखेको थियो। उनीविरुद्ध जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको उजुरी परेपछि समितिले यस विषयमा छानबिन अघि बढाएको थियो।

उजुरीका सम्बन्धमा समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारलाई पत्राचार गरेको थियो। त्यस्तै, जापानको स्थानीय सरकारमा रहेर थापाले काम गरेको विषयमा पनि दोस्रो पटक पत्राचार गरिएको थियो। तर, उक्त विषयमा जापान सरकारबाट हालसम्म जवाफ प्राप्त नभएको जनाइएको छ।

सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा प्रस्ताव गरेको थियो। तीमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ भने दुई जनाको नाम अस्वीकृत गरेको छ। अब थापाको नाममा मात्रै निर्णय हुन बाँकी छ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइका लागि प्राप्त नाममा ४५ दिनभित्र निर्णय हुन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिन्छ। थापाको नाममा निर्णय गर्न पाउने ४५ दिने समयसीमा यही कात्तिक १९ गते सकिँदै छ। त्यसैले समितिले समयसीमा सकिनुअघि नै उनको विषयमा निर्णय गर्ने तयारी गरेको हो।

NECO

Leave Your Comment

Related News