काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा, अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित एवम् प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानन्यायाधीश र सम्बन्धित न्यायाधीशहरूले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरिसकेको सन्दर्भमा सोमबार बसेको फूलकोर्ट बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चताप्रतिको अटल आस्था र प्रतिबद्धतामा आफूहरू स्पष्ट र अडिग रहेको स्पष्ट पारेको छ। साथै, संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर हुन सबै पक्षलाई आग्रह गरिएको छ।
सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयका सम्बन्धमा बिनापूर्वाग्रह, निष्पक्ष र स्वतन्त्र ढङ्गले कानुनबमोजिम छानबिन गरी सत्य-तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई बैठकले आग्रह गरेको छ।
सञ्चारमाध्यममा आएका समाचारका सम्बन्धमा कानुनबमोजिम हुने छानबिन र अनुसन्धानमा कानुनले तोकेको जवाफदेहिता र सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको सर्वोच्चले जनाएको छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा आम जनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपरोस् भन्नेमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
त्यस्तै, हाल प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदाझैं आआफ्नो न्यायिक कार्यमा उच्च मनोबलका साथ क्रियाशील रहन देशभरका अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई पूर्ण बैठकले आह्वान गरेको छ।



