Global College

राष्ट्र बैंकद्वारा फिन्टेक नवप्रवर्तन प्रदर्शनी आयोजना

काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धन तथा फिन्टेक क्षेत्रमा विकसित भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘NRB Fintech Innovation Showcase Event 2026’ आयोजना गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम आज काठमाडौंस्थित केन्द्रीय बैंकको बालुवाटार परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको विकास र विस्तारलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताए । उनले नवप्रवर्तनमैत्री नियामकीय तथा सुपरिवेक्षकीय प्रणाली विकासका लागि केन्द्रीय बैंक प्रयासरत रहेको जानकारी दिए ।

फिन्टेक क्षेत्रको विस्तारसँगै यसबाट सिर्जना हुने अवसर र चुनौती दुवैलाई व्यवस्थापन गर्नु राष्ट्र बैंकको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ थियो । वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुका साथै वित्तीय प्रविधि तथा नवप्रवर्तनसँगै विकसित हुने नयाँ जोखिमलाई समेत सम्बोधन गर्नुपर्ने उनले बताए ।

गभर्नर पौडेलले फिन्टेक क्षेत्रको विकासका लागि नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील अन्य संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेक क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत तथा संरचनागत प्रयासबारे चर्चा गरेका थिए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सम्बन्धमा राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी गराएका थिए ।

उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिन्टेक कम्पनी तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

२७ वटा स्टलमार्फत फिन्टेक नवप्रवर्तनको प्रदर्शन

कार्यक्रमअन्तर्गत वित्तीय संस्था तथा फिन्टेक कम्पनीका २७ वटा स्टल राखिएका थिए । प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) लगायतका क्षेत्रमा विकसित नवप्रवर्तन प्रस्तुत गरिएको थियो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र फिन्टेक कम्पनीलगायत विभिन्न संस्थाका एक हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीले वित्तीय क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि, सेवा तथा समाधानबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

यसै अवसरमा ‘Digital Lending and Credit for Underserved’ विषयमा प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो । फिन्टेक अलायन्स नेपालका मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र फिन्टेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवाल सहभागी थिए ।

फिन्टेक इकोसिस्टम बलियो बनाउने राष्ट्र बैंकको रणनीति

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘Fintech Strategy for Digital Financial Services (2026/27–2030/31)’ अन्तर्गत फिन्टेक इकोसिस्टममा आबद्ध नवप्रवर्तक तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ ।

उक्त रणनीतिअनुसार डिजिटल फाइनान्स इन्नोभेसन हब (DIF-Hub) र Regulatory Sandbox लाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्र बैंकले ‘NRB Fintech Nexus’ संयन्त्रसमेत तयार गरेको छ । यही रणनीतिक पहलअन्तर्गत फिन्टेक क्षेत्रमा भएका नवप्रवर्तनलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

राष्ट्र बैंकले आगामी दिनमा Fintech Workshop, Hackathons तथा Innovation Challenges जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ । यसले वित्तीय प्रविधिमा नयाँ विचार, समाधान र व्यावसायिक सम्भावनाको विकासलाई प्रोत्साहन गर्नुका साथै नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रलाई थप व्यवस्थित र नवप्रवर्तनमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ

NECO

Leave Your Comment

Related News