काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भारका लागि आगामी कात्तिक १७ गते शनिबार बिहान ३ घण्टा विद्युत् आपूर्ति बन्द रहने जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १७ गते बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मत गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुने विभिन्न क्षेत्रमा बत्ती जानेछ।
यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ। साथै, विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ।



