काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मानव संसाधन सन्तुष्टि अध्ययन प्रतिवेदनले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूको काम र व्यक्तिगत जीवनबीचको सन्तुलन (वर्क लाइफ ब्यालेन्स) सन्तोषजनक देखिए पनि विभिन्न चुनौती र असन्तुष्टि कायम रहेको देखाएको छ। विशेषगरी अनियन्त्रित कार्यालय समय, अतिरिक्त कामको दबाब, पर्याप्त जनशक्तिको अभाव र कर्मचारी सुरक्षाप्रति व्यवस्थापनको उदासीनताले कर्मचारीहरूको व्यक्तिगत तथा पारिवारिक जीवन प्रभावित भइरहेको प्रतिवेदनले औंल्याएको छ।
प्राधिकरणले जीवन, निर्जीवन तथा लघुबीमा कम्पनीमा कार्यरत ३ हजार ७६७ कर्मचारीबीच गरेको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार कर्मचारीहरू काम गर्ने समयप्रतिको सहजतामा औसत ३.४४ र काम तथा व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न सक्ने विषयमा ३.२६ अंक प्राप्त गरेका छन्।
यी सूचकले कर्मचारीहरू मध्यम रूपमा सन्तुष्ट रहेको देखाए पनि ठूलो संख्यामा कर्मचारीले काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न कठिनाइ भोगिरहेको संकेत गर्छन्।
बीमा क्षेत्रमा बैंक तथा अन्य वित्तीय संस्थाको तुलनामा कामको दबाब, अनियमित कार्यालय समय र बजार तथा फिल्डमा खटिनुपर्ने बाध्यताले कर्मचारीहरू थप प्रभावित हुने गरेका छन्। विशेषगरी कार्यालय समय सकिएपछि पनि बिहान, बेलुका तथा सार्वजनिक बिदाका दिनमा समेत उच्च व्यवस्थापनबाट व्यावसायिक लक्ष्य पूरा गर्न ताकेता हुने गरेको कर्मचारीहरूको गुनासो छ।
महिनाको अन्त्य तथा आर्थिक वर्षको अन्त्यमा वित्तीय विवरण बन्द गर्ने समयमा कर्मचारीलाई अतिरिक्त पारिश्रमिक वा ओभरटाइम सुविधाबिना लामो समयसम्म काममा खटाउने प्रवृत्ति रहेको उनीहरूको भनाइ छ। यसले कर्मचारीको व्यक्तिगत तथा पारिवारिक जीवनमा प्रत्यक्ष असर पारिरहेको छ।
विशेषगरी अण्डरराइटिङ विभागमा कार्यरत कर्मचारीहरूले ढिलो रातिसम्म कार्यालयमा बसेर काम गर्नुपर्ने अवस्था रहेको छ। तर, अतिरिक्त समय काम गर्दा खाना तथा खाजाको व्यवस्था नहुने र राति ढिलो घर फर्कनुपर्ने महिला कर्मचारीका लागि सुरक्षित यातायातको व्यवस्था समेत नगरिने गुनासो छ।
इन्स्योरेन्स खबरसँग कुरा गरेका केही बीमा कम्पनीका शाखा कर्मचारीहरूले क्लोजिङका बेला व्यवस्थापनले ढिलोसम्म कार्यालयमा बस्न निर्देशन दिने गरे पनि राति घर फर्कने समयमा सुरक्षित यातायातको जिम्मेवारी नलिने गरेको बताएका छन्। विशेषगरी महिला कर्मचारीहरू राति अबेरसम्म काम सकेर राइड सेयरिङ सेवा वा आफ्नै दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गरी घर फर्कनुपर्ने जोखिममा रहने गरेका छन्।
श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ ले महिला कर्मचारीलाई राति अबेरसम्म काममा लगाउनुपर्ने अवस्था आएमा सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था गर्नुपर्ने प्रावधान राखेको छ। तर, व्यवहारमा व्यवस्थापनले कर्मचारी सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पीडित कर्मचारीहरूको गुनासो छ। यसबारे व्यवस्थापनलाई जानकारी गराउँदा सुधारको आश्वासन दिने गरिए पनि पुरानै प्रवृत्ति दोहोरिने गरेको उनीहरूको भनाइ छ।
असन्तुष्टिका मुख्य कारण
बीमा क्षेत्रमा कर्मचारीहरूको काम र व्यक्तिगत जीवनबीच सन्तुलन बिग्रनुका पछाडि विभिन्न कारण रहेको अध्ययन तथा कर्मचारीका प्रतिक्रियाले देखाएका छन्।
विशेषगरी उपत्यकाबाहिरका शाखा तथा उपशाखामा कार्यरत र परिवारबाट टाढा दुर्गम क्षेत्रमा खटिएका कर्मचारीले पारिवारिक जीवनका लागि पर्याप्त समय दिन नसकेको गुनासो गरेका छन्। त्यस्तै, शाखा कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा एउटै कर्मचारीले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको छ। यसले कामको चाप र मानसिक तनाव बढाएको छ।
त्यसैगरी, बैंकिङ क्षेत्रमा जस्तो कर्मचारीलाई मानसिक विश्राम र उत्पादकत्व अभिवृद्धिका लागि अनिवार्य बिदा (फोर्स लिभ) दिने अभ्यास बीमा क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो छ। कर्मचारीले नियमित बिदा उपभोग गर्न नपाउँदा कामप्रतिको दबाब थप बढ्ने गरेको बताइएको छ।
बिदा स्वीकृतिको प्रक्रियासमेत कर्मचारी असन्तुष्टिको अर्को कारण बनेको छ। बैंकहरूमा मानव संसाधन सफ्टवेयरमार्फत बिदाको विवरण प्रविष्ट गरी सहज रूपमा बिदा लिन सकिने अभ्यास रहे पनि बीमा कम्पनीहरूमा भने बिदा स्वीकृतिका लागि व्यवस्थापकको निर्णय कुर्नुपर्ने अवस्था रहेको कर्मचारीहरूको गुनासो छ।
यसले कर्मचारीलाई बिदा बस्ने समयसम्म पनि बिदा स्वीकृत हुने वा नहुने अनिश्चिततामा राख्ने गरेको छ। पारिवारिक योजना बनाउने, यात्रा तय गर्ने र टिकट काट्नेसम्मका विषयमा अन्योल सिर्जना हुने गरेको उनीहरू बताउँछन्।
समग्रमा, बीमा क्षेत्रमा कर्मचारी सन्तुष्टि र उत्पादकत्व बढाउन काम गर्ने समयको व्यवस्थापन, अतिरिक्त कामको उचित पारिश्रमिक, पर्याप्त जनशक्ति, महिला कर्मचारीको सुरक्षित यातायात तथा बिदा सुविधाको प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ।



