काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो ।
अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो । यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले वृद्धि गरिएको थियो ।
मौद्रिक नीति बोर्डले मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा अवरोधका कारण ऊर्जा मूल्य तथा मुद्रास्फीतिमा दबाब कायम रहने जनाएको छ । मुद्रास्फीति सन् २०२७ को अधिकांश समय उच्च रहने र त्यस वर्षको अन्त्यसम्म मात्र लक्ष्यको माथिल्लो सीमामा फर्कने अनुमान गरिएको छ ।
ब्याजदर वृद्धिको निर्णय नौ सदस्यीय बोर्डमा छ जनाको समर्थनमा भएको थियो । तीन सदस्यले भने दर ४.६० प्रतिशतमा कायम राख्नुपर्ने मत दिएका थिए । गभर्नर मिचेल बुलकले परिवारका लागि यो निर्णय कठिन भए पनि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री जिम चाल्मर्सले मध्यपूर्वको द्वन्द्वले महँगी र आर्थिक वृद्धिमा दबाब सिर्जना गरिरहेको बताए । बोर्डले डिसेम्बरको सुरुमा पुनः ब्याजदरबारे निर्णय गर्नेछ । युबिएस अस्ट्रेलियाका प्रमुख अर्थशास्त्री जर्ज थारेनोले भने आगामी बैठकमा ब्याजदर यथावत् रहने अपेक्षा गरेका छन् ।



