Global College

बढ्दो खुद मुनाफा र सुदृढ पुँजीगत आधारबीच कुमारी बैंकको रेटिङमा सुधार

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यरत अग्रणी संस्था कुमारी बैंक लिमिटेडको वित्तीय क्षमतामा सुधार आएको छ। इक्रा नेपाल लिमिटेडले हालै सार्वजनिक गरेको समीक्षा तथा रेटिङ परिणामअनुसार कुमारी बैंकको इस्यूअर रेटिङ ‘[ICRANP-IR] BB+’ बाट सुधार गर्दै ‘[ICRANP-IR] BBB–’ मा स्तरोन्नति गरेको छ। यसैगरी, बैंकले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको सुबोर्डिनेटेड डिबेन्चर (ऋणपत्र) को रेटिङ पनि ‘[ICRANP] LBB+’ बाट बढाएर ‘[ICRANP] LBBB–’ पुर्‍याइएको छ। इक्रा नेपालका अनुसार ‘BBB–’ रेटिङ प्राप्त गरेका संस्था तथा ऋणपत्रहरूले वित्तीय दायित्व समयमै बहन गर्ने मामिलामा मध्यमस्तरको सुरक्षा प्रदान गर्छन् र यस्ता संस्थाहरूमा मध्यम किसिमको क्रेडिट जोखिम रहने गर्दछ।

कुमारी बैंकको यस रेटिङ सुधार हुनुमा मुख्यतया बैंकको पुँजीगत आधारमा आएको क्रमिक सुधार प्रमुख कारण रहेको छ। बैंकको टायर–वान  पुँजी अनुपात अघिल्ला वर्षहरूको तुलनामा सुध्रिएर २०८३ असार मसान्तसम्ममा ९.८७ प्रतिशत पुगेको छ, जुन यसअघि २०८१ असारमा ७.७० प्रतिशत मात्र रहेको थियो। यसले बैंकलाई विगतका पुँजीगत दबाबबाट बाहिर निस्कन र सम्भावित आर्थिक झट्काहरू सहनका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरेको छ। यसैगरी, बैंकको समग्र पुँजी पर्याप्तता अनुपात (CRAR) १३.५० प्रतिशत कायम भएको छ, जुन नियामक निकायले तोकेको मापदण्ड अनुरूप नै सुरक्षित अवस्थामा रहेको छ।

आर्थिक वर्ष २०२६ (२०८२/८३) मा बैंकको खुद मुनाफामा आएको तीव्र वृद्धले पनि रेटिङ स्तरोन्नतिमा सघाउ पुर्‍याएको छ। यस अवधिमा बैंकको कुल खुद नाफा ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बैंकको कुल सम्पत्ति ४ लाख ९१ हजार ६८१ मिलियन रुपैयाँ पुगेको छ। यसै वर्ष बैंकको कुल आम्दानी तथा खुद ब्याज आम्दानी  बढेर १२ अर्ब १३ मिलियन रुपैयाँ कायम भएको छ। बैंकको सम्पतिमाथिको प्रतिफल  १.५८ प्रतिशत र नेटवर्थमाथिको प्रतिफल  १७.९८ प्रतिशत पुगेको छ। मुख्यतया कर्जा व्यवस्थापन तथा प्रोभिजन रिभर्सल  बाट प्राप्त लाभले खुद मुनाफा बढाउन महत्त्वपूर्ण योगदान दिएको छ।

बैंकको तरलता स्थिति  पनि निकै सन्तोषजनक देखिएको छ। २०८३ असार मसान्तसम्ममा बैंकको कुल तरल सम्पत्ति तथा कुल निक्षेप अनुपात करिब ४० प्रतिशत र कर्जा-निक्षेप अनुपात  करिब ७७ प्रतिशत रहेको छ, जो नियामक सीमाभित्रै रहेर बैंकिङ कारोबार सञ्चालन गर्न पर्याप्त मानिन्छ। यसका साथै, बैंकको चालु तथा बचत खाता  मिश्रणमा भएको सुधारले कुल कोषको लागत  घटाउन मद्दत गरेको छ। विसं २००१ देखि सञ्चालनमा रहेको यस बैंकले विभिन्न मर्जर तथा प्राप्तिका क्रम पार गर्दै देशका विभिन्न क्षेत्रमा बलियो बजार उपस्थिति र अनुभव प्राप्त सञ्चालक समिति तथा व्यवस्थापन टिमको नेतृत्वमा सेवा प्रवाह गर्दै आएको छ।

यद्यपि, बैंकका सामु केही चुनौती र संवेदनशीलताहरू अझै पनि विद्यमान छन्। बैंकको निष्क्रिय कर्जा  बढेर ८.८३ प्रतिशत पुगेको छ भने करिब २२ प्रतिशत कर्जामा प्रारम्भिक भुक्तानी ढिलाइ  देखिएको छ। यसले गर्दा खुद निष्क्रिय कर्जाको नेटवर्थसँगको अनुपात बढेर करिब १३ प्रतिशत पुगेको छ, जसले आगामी दिनमा थप कर्जा नोक्सानीको सम्भावित दबाबलाई इङ्गित गर्छ। यसबाहेक, शीर्ष २० ठूला ऋणीहरूप्रतिको उच्च कर्जा केन्द्रित्रीकरण (कुल कर्जाको करिब २५ प्रतिशत) ले पनि ठूला ऋणीहरूबाट हुन सक्ने सम्भावित डीफल्टको जोखिम निम्त्याउन सक्ने देखिन्छ।

समग्रमा, बैंकिङ क्षेत्रमा देखिएका नियामक नियमहरू, चालु पुँजी कर्जा मार्गदर्शनको पालना र भूराजनीतिक  कारणहरूले सिर्जना गर्ने आर्थिक अस्थिरतालाई चिर्दै बैंकले आफ्नो सम्पत्तिको गुणस्तर सुधार्न र हालको नाफा तथा पुँजीगत स्थायित्वलाई निरन्तरता दिन सकेमा आगामी दिनमा बैंकको वित्तीय साख अझ उँचो बन्ने देखिन्छ।

NECO

Leave Your Comment

Related News