Global College

काठमाडौँ महानगरपालिकाद्वारा तिहारमा स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकियो, प्लास्टिकजन्य फूलमा पूर्ण प्रतिबन्ध

 आगामी तिहार पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले आफ्ना भौगोलिक क्षेत्रभित्र स्वदेशी फूल बिक्रीवितरणका लागि ३३ वटा स्थानहरू तोकेको छ। नेपाली किसानहरूले उत्पादन गरेका फूललाई उचित बजार पहुँच प्रदान गर्न र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन महानगरपालिकाले विगतका वर्षझैँ यस वर्ष पनि विशेष व्यवस्था मिलाएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना जारी गर्दै दीपावलीका अवसरमा प्लाष्टिकजन्य फूल, माला तथा सजावटका वस्तुहरूको बिक्री वितरण, आयात र भण्डारणमा पूर्ण रूपमा रोक लगाएको छ। वातावरण संरक्षण ऐन, २०७६ तथा काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम निषेध गरिएका त्यस्ता सामाग्री प्रयोग गरिएको पाइएमा जफत गरिनुका साथै प्रचलित कानुनी कारबाही हुने महानगरले चेतावनी दिएको छ।

नयाँ बानेश्वर, चावहिल, पुतलीसडक, सुन्धारा, कलंकी, महाराजगञ्ज, तीनकुने र सिफलौरलगायतका ३३ स्थानमा किसानले स्वदेशी फूल बिक्री गर्न सक्नेछन्। तोकिएका स्थानहरूमा किसान तथा व्यापारीहरूको सहजताका लागि सम्बन्धित सम्पर्क व्यक्ति र महानगर प्रहरीको हेल्पलाईन नम्बरसमेत उपलब्ध गराइएको छ।

महानगरपालिकाले २०८० सालदेखि तिहारमा स्वदेशी फूलको प्रवर्द्धनका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ। यस किसिमको व्यवस्थाले नेपाली किसानको उत्पादनलाई विदेशी फूलबाट छुट्याएर बजार सुनिश्चित गर्न र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

NECO

Leave Your Comment

Related News