Global College

सानिमा मिडल तमोर हाइड्रोपावरको नाफा दोब्बरभन्दा बढी, पहिलो त्रैमासमा कमायो ४ करोड २९ लाख

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा दोब्बरभन्दा बढी भएको हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा उक्त नाफा बढेर ४ करोड २९ लाख ६६ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड ४६ लाख रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७४ करोड ३७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल नाफा ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ५१ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च १ करोड १३ लाख रुपैयाँ रहेको छ भने प्लान्ट सञ्चालन खर्च ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने १२ करोड ६६ लाख रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ८९ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस ६ रुपैयाँ ३० पैसा रहेको थियो। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १ पैसा र प्रतिसेयर बजार मूल्य ५७४ रुपैयाँ ९० पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल सम्पत्ति १४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने कुल दायित्व ९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। साथै, कम्पनीले ४७ मेगावाट क्षमताको तमोर खोला जलविद्युत् आयोजनाको विकासका लागि समेत प्रक्रिया अघि बढाएको वित्तीय विवरणमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News