Global College

चितवनमा सञ्चालनमा आउँदै ‘द पोस्टकार्ड अन द राप्ती रिभर’

काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा २२ वटा कोठा तथा सुइटसहितको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा ल्याउन लागेको हो। होटल आगामी नोभेम्बर २०२६ देखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित होटलबाट राप्ती नदी, जंगल र पहाडको दृश्यावलोकन गर्न सकिनेछ। होटलमा १ हजार ३०० वर्गफिटदेखि सुरु हुने २२ वटा फराकिला कोठा तथा सुइट रहेका छन्। दुई बेडरुमसहितको ५ हजार वर्गफिट क्षेत्रफलको प्रेसिडेन्सियल सुइटमा निजी स्विमिङ पुलसमेत उपलब्ध हुनेछ।

होटलले पाहुनालाई प्रकृतिसँग नजिक रहेर लक्जरी आतिथ्य सेवाको अनुभव प्रदान गर्ने जनाएको छ। यहाँबाट एकसिंगे गैँडा, गोहीलगायत वन्यजन्तु अवलोकन गर्न सकिनेछ। अनुकूल अवस्थामा बाघ तथा भालुजस्ता वन्यजन्तु पनि देख्न सकिने कम्पनीको भनाइ छ।

होटलमा रेस्टुरेन्ट तथा बार, स्विमिङ पुल, स्पा, स्टिम रुम र साउना लगायतका सुविधा रहनेछन्। ‘ट्री टप्स’ नामको रेस्टुरेन्ट तथा बारबाट जंगलको दृश्यावलोकन गर्न सकिनेछ। त्यस्तै, थारू समुदायको परम्परागत खानपानबाट प्रेरित ‘ट्राइबल सर्कल’ मा बार्बेक्युको अनुभव लिन सकिनेछ।

पाहुनाका लागि जीप सफारी, जंगलमा पैदल यात्रा, राप्ती नदीमा डुंगा सयर तथा चरा अवलोकनजस्ता गतिविधि पनि सञ्चालन गरिनेछ। नजिकैका थारू बस्तीको भ्रमणमार्फत स्थानीय संस्कृति र जीवनशैली बुझ्ने अवसरसमेत उपलब्ध हुनेछ।

होटलका सुइटको मूल्य प्रतियुनिट नेपाली रुपैयाँ १ लाख ३६ हजारदेखि सुरु हुने जनाइएको छ। उक्त मूल्यमा होटलको विशेष ‘एनिटाइम ब्रेकफास्ट’ सुविधा समावेश छ। पाहुनाले आफ्नो सुविधाअनुसार जुनसुकै समयमा चेक-इन तथा चेक-आउट गर्न सक्नेछन्।

द पोस्टकार्ड होटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले नेपालको तराई क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले चितवनमा होटल सञ्चालन गर्न लागिएको बताएका छन्। उनका अनुसार स्थानीय प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई कायम राख्दै विशिष्ट पर्यटकीय गन्तव्य विकास गर्ने ब्रान्डको अवधारणासँग यो परियोजना मेल खान्छ।

त्यस्तै, होटलकी संस्थापक सवाना वैद्य बस्न्यातले चितवनको प्राकृतिक सम्पदा र स्थानीय समुदायको जीवनशैलीलाई विश्वसामु चिनाउने उद्देश्यले परियोजना अघि बढाइएको बताएकी छन्। उनले यसलाई आतिथ्य सेवामा मात्र सीमित नभई संरक्षणमा आधारित पर्यटनको अवधारणाका रूपमा व्याख्या गरेकी छन्।

द पोस्टकार्ड होटल भारत, भुटान र श्रीलंकामा सञ्चालनमा छ। नेपाल प्रवेशसँगै ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति चौथो देशमा विस्तार हुनेछ। कम्पनीका अनुसार हाल यी तीन देशमा ब्रान्डका १३ वटा लक्जरी होटल सञ्चालनमा छन्।

यसअघि सन् २०२६ को सेप्टेम्बरमा माल्दिभ्समा आयोजित ‘वल्र्ड ट्राभल अवार्ड्स एसिया, ओसियानिया एन्ड इन्डियन ओसन गाला समारोह’ मा ब्रान्डले १२ वटा अवार्ड प्राप्त गरेको थियो। लगातार दोस्रो वर्ष ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’ को उपाधि जितेको कम्पनीले जनाएको छ।

सन् २०१८ डिसेम्बरमा स्थापना भएको द पोस्टकार्ड होटलले प्रकृति, स्थानीय संस्कृति र व्यक्तिगत आतिथ्य सेवामा आधारित लक्जरी पर्यटनलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले आगामी दिनमा भारतका गिर, जवाइ, कान्हा र पेन्चलगायतका वन्यजन्तु तथा प्राकृतिक गन्तव्यमा समेत होटल विस्तार गर्ने योजना बनाएको छ। आगामी छ महिनाभित्र थप पाँचवटा होटल सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।

NECO

Leave Your Comment

Related News