काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा (मैच १४) शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।
जारी लिगमा उत्कृष्ट लयमा रहेको लुम्बिनी लायन्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। आफ्नो अघिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको लुम्बिनी आज जनकपुरलाई हराएर शीर्ष स्थान थप मजबुत बनाउने लक्ष्यमा हुनेछ। उता, ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको जनकपुर बोल्ट्स भने पछिल्लो खेलमा विराटनगर किङ्ससँग २ रनको रोमाञ्चक हार व्यहोरेपछि पुनरागमनको खोजीमा छ।
त्यसतै, दोस्रो खेलमा (मैच १५) काठमाडौँ गुर्खाज र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। यस खेलको मुख्य आकर्षण विश्व क्रिकेटका दुई स्टार खेलाडीहरू— काठमाडौँ गुर्खाजका डेभिड वार्नर र विराटनगर किङ्सका अन्द्रे रसेलबीचको भिडन्त हुनेछ।
विराटनगर किङ्स आफ्नो अघिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई २ रनले हराएर उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ। टोलीका विष्फोटक अलराउन्डर अन्द्रे रसेल उत्कृष्ट फारममा छन् र उनी आफ्नो आक्रामक ब्याटिङ तथा घातक बलिङमार्फत खेलको नतिजा बदल्न माहिर मानिन्छन्। ४ खेलबाट ४ अंक जोडेको विराटनगर आज जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानतर्फ उक्लने लक्ष्यमा रहनेछ।
अर्कोतर्फ, काठमाडौँ गुर्खाजका लागि स्टार ओपनर डेभिड वार्नरको भूमिका महत्त्वपूर्ण हुनेछ। वार्नरको विष्फोटक सुरुवात र अनुभवले काठमाडौँलाई बलियो स्थितिमा पुर्याउन सक्छ। कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै जितको खाता खोलेको काठमाडौँ गुर्खाज आज विराटनगरलाई पछाडि पार्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्न मैदानमा उत्रिनेछ।
विश्व स्तरका दुई दिग्गज ब्याटर र अलराउन्डर मैदानमा उत्रिने भएकाले आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।



