काठमाडौं । नेपालमा कोका-कोला पेय पदार्थ उत्पादन गर्न बोटलर्स नेपाल लिमिटेड (बालाजु) र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विभिन्न समस्या र चुनौतीहरूका बाबजुद यी दुवै कम्पनीले यस अवधिमा सामान बिक्रीबाट हुने आम्दानी र खुद नाफा दुवैमा राम्रो प्रगति गरेका छन्।
सार्वजनिक विवरण अनुसार असोज मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) ले कुल ३ अर्ब ७७ करोड १२ लाख रुपैयाँ बराबरको सामान बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही तीन महिनाको तुलनामा २.२ प्रतिशतले बढी हो। अर्कोतर्फ, बोटलर्स नेपाल (तराई) ले २ अर्ब ८३ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.३ प्रतिशतको वृद्धि हो। कुल बिक्री रकमको आधारमा काठमाडौँको बालाजुस्थित कम्पनी ठूलो देखिए पनि आम्दानी बढाउने गतिमा भने तराईको कम्पनी अगाडि देखिएको छ।
कम्पनीले सबै खर्चहरू कटाएर बचाएको नाफातर्फ हेर्दा दुवै कम्पनीको प्रगति उत्साहजनक छ। बालाजु कम्पनीले समीक्षा अवधिमा ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले धेरै हो। यता तराई कम्पनीले ३४ करोड २५ लाख ९१ हजार रुपैयाँ शुद्ध नाफा कमाएको छ। तराई कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २५.१ प्रतिशतले बढेको हो। दुवै कम्पनीले कमाएको नाफा रकम हेर्दा करिब ३४-३४ करोड रुपैयाँ भएर लगभग बराबर देखिए पनि अघिल्लो वर्षको तुलनामा नाफा बढाउने दरमा भने तराई कम्पनी धेरै अगाडि छ।
समीक्षा अवधिमा सामान बिक्री गरी नाफा कमाउन कम्पनीहरूलाई त्यति सजिलो भने थिएन। सरकारले लगाएको अन्तःशुल्क करमा भएको वृद्धि, डलरको भाउ बढ्दा नेपाली रुपैयाँ कमजोर हुनु, पेय पदार्थ बनाउन चाहिने कच्चा पदार्थको मूल्य बढ्नु र गाउँ-गाउँसम्म सामान पुर्याउने गाडी भाडा महँगो हुनु जस्ता कारणले कम्पनीको खर्च बढाएको थियो। यसका साथै, गत अगस्ट महिनामा आएको ठूलो बाढीका कारण सडकहरू बन्द भएर व्यापार रोकिएको थियो कम्पनीकको दाबी छ । बाढी र चाडपर्वको समय अघिपछि परेकाले दसैँ-तिहारमा हुने पेय पदार्थको बिक्री केही कम भएको र त्यो बाँकी बिक्री अब दोस्रो तीन महिनामा हुने कम्पनी व्यवस्थापनको भनाइ छ।
यस्ता अनेकौँ कठिनाइ र समस्याहरू भए तापनि कम्पनीहरूले आफ्नो नाफा घट्न दिएनन्। सामानको बोतल र प्याकेटको बुद्धिमत्तापूर्ण मूल्य निर्धारण गर्ने, बजारमा आफ्ना सामानको विज्ञापन र प्रवर्द्धन गर्ने, पसलहरूमा चिस्यान मेसिन (फ्रिज) हरू थपेर बिक्री बढाउने र अन्य खर्चहरू कटौती गर्ने जस्ता उपायहरू अपनाएर दुवै कम्पनीले आफ्नो नाफा बढाउन सफलता पाएका हुन्।
कम्पनीको प्रतिसेयर आम्दानी तराई कम्पनीको १ हजार १४९ रुपैयाँ र बालाजु कम्पनीको ६३७ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ तराईको ३हाजर ७६२ रुपैयाँ र बालाजुको ३ हाजर ८२० रुपैयाँ कायम भएको छ। कुल सम्पत्तितर्फ बालाजु कम्पनीसँग १४ अर्ब ६४ करोड ५९ लाख रुपैयाँ र तराई कम्पनीसँग ९ अर्ब ३० करोड ४१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। आगामी दिनमा चाडपर्वको बाँकी माग पूरा हुने र नयाँ बजार विस्तारका कारण कम्पनीको व्यापार अझै बढ्ने विश्वास दुवै कम्पनीले लिएका छन्।



