काठमाडौं । नेपालका लागि जेसीबी निर्माण उपकरण तथा भारी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगञ्जमा नयाँ मेसिन जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ। कम्पनीले ‘प्रगतिका साझेदार’ (Partner in Progress) नारासहित आयोजना गरेको कार्यक्रममा उक्त मेसिन सार्वजनिक गर्नुका साथै १० जना ग्राहकलाई जेसीबीका विभिन्न मेसिन हस्तान्तरण गरेको हो।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रिम्याक्सको अनावरण गरेका थिए।
जेसीबी एग्रिम्याक्स विभिन्न प्रकारका सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि तयार पारिएको बहुउपयोगी मेसिन हो। यसमा कामको प्रकृतिअनुसार जडान गर्न मिल्ने सामग्री बोक्ने उपकरण, उच्च क्षमताका सोभेल तथा क्ल्याम्पलगायतका सहायक उपकरण उपलब्ध छन्। फरक–फरक कामका लागि आवश्यक उपकरण परिवर्तन गर्न सकिने भएकाले यसलाई कृषि, प्लाइउड उद्योग, तयारी कङ्क्रिट उद्योग, क्रसर उद्योग, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी, मेसिन भाडामा लगाउने तथा विभिन्न औद्योगिक प्रतिष्ठानका लागि उपकरण उपलब्ध गराउने व्यवसायमा समेत एग्रिम्याक्स उपयोगी हुने कम्पनीको भनाइ छ। सामग्री उठाउने, बोक्ने तथा एक स्थानबाट अर्को स्थानमा सार्ने कामलाई सहज र प्रभावकारी बनाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा एग्रिम्याक्ससँगै जेसीबी ३डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनेरेटर पनि प्रदर्शन गरिएको थियो। ती उपकरणमार्फत निर्माण, माटो तथा ढुंगा व्यवस्थापन र विद्युत् उत्पादनका क्षेत्रमा जेसीबीले उपलब्ध गराउँदै आएका विभिन्न समाधान प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अर्को आकर्षणका रूपमा १० जना ग्राहकलाई जेसीबीका मेसिन हस्तान्तरण गरिएको थियो। एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए। कम्पनीका अनुसार यो हस्तान्तरणले जेसीबीका उत्पादनप्रति ग्राहकले देखाउँदै आएको विश्वास र पश्चिम नेपालमा कम्पनीले विकास गरेको व्यावसायिक सम्बन्धलाई प्रतिबिम्बित गरेको छ।
नयाँ मेसिन सार्वजनिक तथा ग्राहकलाई उपकरण हस्तान्तरण गर्ने कार्यक्रमले पश्चिम नेपालमा कृषि, निर्माण र औद्योगिक क्षेत्रमा आवश्यक पर्ने भारी उपकरणको उपलब्धता विस्तार गर्ने कम्पनीको प्रयासलाई अघि बढाएको छ।



