काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने विद्युतीय टोल भुक्तानी प्रणालीमा आधारित एन–ट्याग अब सानिमा बैंकका देशभरका शाखाबाट पनि उपलब्ध हुने भएको छ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सवारीसाधनको टोल शुल्क भुक्तानीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन विद्युतीय टोल सङ्कलन प्रणाली ९इलेक्ट्रोनिक टोल कलेक्सन० लागू गरिएको छ। यस प्रणालीअन्तर्गत प्रयोग हुने एन–ट्याग अब सानिमा बैंक लिमिटेडका देशभर फैलिएका शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
एन–ट्याग रेडियो फ्रिक्वेन्सी पहिचान प्रविधिमा आधारित उपकरण हो। यसलाई सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्ने हुन्छ। सुरुङमार्गको प्रवेश तथा निकासद्वारमा जडान गरिएका उपकरणले सवारीसाधनमा रहेको एन–ट्याग स्वतः पहिचान गर्छन्। त्यसपछि टोल शुल्क सम्बन्धित ट्यागबाट स्वतः कट्टा हुने र प्रवेश तथा निकासद्वार खुल्ने व्यवस्था रहेको छ। यस प्रणाली लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले टोल शुल्क तिर्न लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ। नगद कारोबार र प्रत्यक्ष भुक्तानीको झन्झट हट्नुका साथै यात्रुहरूले छिटो, सहज र झन्झटरहित यात्रा अनुभव गर्न सक्नेछन्।
सानिमा बैंकका देशभरका शाखाबाट एन–ट्याग उपलब्ध
सवारीधनीहरूले सानिमा बैंकका देशभर रहेका जुनसुकै शाखामा पुगेर एन–ट्याग लिन सक्नेछन्। बैंकका अनुसार एन–ट्यागमा ईसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम थप्न अर्थात् रिचार्ज गर्न सकिने व्यवस्था छ।बैंकले यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सीमित नराखी देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएको जनाएको छ। यसबाट उपत्यकाबाहिर रहेका सवारीधनीले समेत आफ्नो नजिकको सानिमा बैंक शाखाबाट एन–ट्याग प्राप्त गरी सुरुङमार्ग प्रयोग गर्न आवश्यक तयारी गर्न सक्नेछन्।
सडक पूर्वाधारमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन लागेको हो।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले राष्ट्रिय पूर्वाधारका रूपमा रहेको नागढुंगा सुरुङमार्गमा डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन सहयोग गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताएका छन्। उनले बैंकको फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एन–ट्यागमार्फत टोल शुल्क भुक्तानी गर्ने व्यवस्थाले सडक यात्रालाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सानिमा बैंकका देशभरका शाखाबाट एन–ट्याग उपलब्ध हुन थालेपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीधनीका लागि यसको पहुँच थप सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ।



