काठमाडौं । अमेरिकाका प्रमुख वाणिज्य बैंकहरू जेपी मोर्गन चेस, वेल्स फार्गो, बैंक अफ अमेरिका र यूएस बैंकको सेवामा प्राविधिक समस्या आउँदा हजारौँ ग्राहक प्रभावित भएका छन् । सोमबार दिउँसोदेखि अनलाइन बैंकिङ, एटिएम तथा रकम स्थानान्तरण जस्ता सेवामा अवरोध उत्पन्न भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेस बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण यस्तो समस्या आएको र त्यसको असर अन्य बैंकहरूमा पनि परेको हुनसक्ने जनाएको छ । बैंकले यो समस्या अस्थायी रहेको र कुनै साइबर आक्रमण वा प्रणालीगत त्रुटिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । सोमबार साँझदेखि भने सेवामा क्रमशः सुधार आउन थालेको छ ।
सेवा अवरुद्ध हुँदा ग्राहकहरूले अनलाइन खाता खोल्न, मौज्दात जाँच गर्न तथा बैंक र वायर ट्रान्सफर गर्न कठिनाइ भोगेका थिए । इन्टरनेट सेवाको निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार चेस बैंकको सेवामा समस्या आएको भन्दै करिब पाँच हजार गुनासा दर्ता भएका थिए । टेक्सासको डलासस्थित एक शाखामा चेक जम्मा गर्न गएका ग्राहकले प्रणाली डाउन भएका कारण कारोबार हुन नसकेको बताएका छन् । यद्यपि, चेस बैंकले केही कारोबार पूरा हुन सामान्यभन्दा बढी समय लागे पनि ग्राहकको खाता र रकम सुरक्षित तथा पहुँचयोग्य रहेको जनाएको छ । ८ करोड ६० लाखभन्दा बढी ग्राहक र ५ हजार शाखा रहेको चेस बैंक अमेरिकाको सबैभन्दा ठूलो क्रेडिट कार्ड जारीकर्ता संस्थासमेत हो ।
यस्तै, बैंक अफ अमेरिकाका ग्राहकले एटिएम र मोबाइल बैंकिङमा समस्या भोगेका थिए भने वेल्स फार्गोका ग्राहकले खातामा लग-इन गर्न र कारोबार गर्न कठिनाइ भएको गुनासो गरेका थिए । यूएस बैंकले आफ्नो मुख्य प्रणालीमा प्रत्यक्ष असर नपरे पनि डिजिटल भुक्तानी प्लेटफर्म ‘जेले’ मार्फत रकम पठाउँदा ग्राहकले त्रुटि सन्देश प्राप्त गरेको जनाएको छ । जेलेले भने आफ्नो प्रणाली सामान्य रूपमै चलिरहेको र अन्य बैंकको समस्याका कारण भुक्तानी प्रभावित भएको प्रतिक्रिया दिएको छ । यसैबीच, ट्रुइस्ट, पिएनसी र क्यापिटल वान बैंकका ग्राहकले पनि समस्या भोगेको बताए पनि ती बैंकहरूले आफ्नो प्रणाली प्रभावित नभएको दाबी गरेका छन् ।
बैंकहरूको सेवा अवरुद्ध भएकै दिन युनाइटेड एयरलाइन्सको प्रणालीमा पनि व्यापक प्राविधिक समस्या आउँदा उडानहरू प्रभावित भएका थिए । शिकागोस्थित उक्त एयरलाइन्सले साइबर सुरक्षासँग सम्बन्धित नरहेको उक्त समस्या केही घण्टामै समाधान भएको जनाएको छ । पछिल्लो समय अमेरिकामा एकपछि अर्को प्राविधिक अवरोधहरू देखिन थालेका छन् । यसअघि गत शुक्रबार सङ्घीय उड्डयन प्रशासन (एफएए) को दूरसञ्चार र नेटवर्क स्तरोन्नतिमा समस्या आउँदा चार घण्टाभन्दा बढी समय अमेरिकाभरका सबै उडान ठप्प भएका थिए, जसको असर अझै पूर्ण रूपमा हटेको छैन । त्यस्तै, हालै माइक्रोसफ्टको प्रणालीमा आएको विश्वव्यापी अवरोधका कारण पनि विभिन्न क्षेत्र प्रभावित बनेका थिए ।



