काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. ले वित्तीय अपराधको बदलिँदो स्वरूप र यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेकोबारे जोड दिएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक के.सी. ले उक्त कुरा बताएका हुन। “आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित यस कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्लिसिसदेखि फैसलासम्म” रहेको थियो।
कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक के.सी. ले यस कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू पहिचान हुने विश्वास व्यक्त गरे। साथै, वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
सोही अवसरमा प्रहरी महानिरीक्षक के.सी. ले “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३” पुस्तकको समेत लोकार्पण गरेका थिए।



