Global College

नेपाल बैंकको ९०औँ वार्षिकोत्सव : डिजिटल कर्जा, बीएनपीएल कार्ड र अनलाइन ऋण आवेदन सेवा सुरु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसर पारेर बैंकले डिजिटल कर्जा (फोन लोन), बाइ नाउ पे लेटर (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन लोन एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकको प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नयाँ वित्तीय सेवाहरूको शुभारम्भ गरेका हुन्।

वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा समारोह आयोजना गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति सदस्य बद्री खनालले गरेका थिए।

नयाँ डिजिटल सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्र र उद्यमशीलता प्रवर्द्धनमा बैंकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना तथा मझौला व्यवसायमा कर्जा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले बैंकलाई संस्थागत सुशासन, वित्तीय अनुशासन र उच्च व्यावसायिक कार्यसम्पादन कायम राख्न निर्देशन दिँदै डिजिटल रूपान्तरण तथा वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरे। साइबर सुरक्षा र तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्नुपर्ने उनको भनाइ थियो।

२९ लाखभन्दा बढी ग्राहक, २३० शाखाबाट सेवा

नेपाल बैंकले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन्। अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधि प्रयोग गर्दै ग्राहकलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिएको छ।

डिजिटल कर्जा, बीएनपीएल क्रेडिट कार्ड तथा अनलाइन कर्जा आवेदन पोर्टलको सुरुवातले बैंकका ग्राहकलाई वित्तीय सेवा प्राप्त गर्ने थप विकल्प उपलब्ध गराएको छ।

दीर्घसेवा कर्मचारी र उत्कृष्ट शाखा पुरस्कृत

वार्षिकोत्सव समारोहमा बैंकमा २५ वर्ष अविच्छिन्न सेवा गरेका तीन जना तथा २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक र प्रशंसापत्र प्रदान गरिएको छ।

त्यसैगरी प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ शाखालाई पुरस्कृत गरिएको बैंकले जनाएको छ।

प्राकृतिक विपत्तिका प्रतिकूल परिस्थितिमा समेत निरन्तर बैंकिङ सेवा सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो। त्यस्तै स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टरमा विषम परिस्थितिका बाबजुद बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्वागत मन्तव्य व्यक्त गरेका थिए। समारोहका अध्यक्ष बद्री खनालले बैंकमा कार्यरत कर्मचारीलाई आगामी दिनमा उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ काम गर्न प्रेरित गर्दै कार्यक्रमका सहभागी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए।

९० वर्षको बैंकिङ इतिहास बोकेको नेपाल बैंकले वार्षिकोत्सवका अवसरमा नयाँ डिजिटल वित्तीय सेवा सार्वजनिक गर्दै प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिएको छ।

NECO

Leave Your Comment

Related News