Global College

प्रधानमन्त्रीले भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सफलताको कामना गर्दै भ्रमणअघि राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा असन्तुष्टि व्यक्त गरेको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै स्थापित लोकतान्त्रिक परम्पराअनुसार राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न सरकारले प्रतिपक्ष र विज्ञहरूसँग छलफल गर्न आवश्यक नठानेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमण अघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो। तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल एवं विषय विज्ञहरूसँग परामर्श गर्न आवश्यक ठानेन। त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन।”

कांग्रेसले जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषय विज्ञहरूसहित विशेष आन्तरिक विमर्श गरी रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो बनाउन व्यापक परामर्श र साझा समझदारी आवश्यक हुने भए पनि सरकारले यो वास्तविकता आत्मसात् गर्न नसकेको कांग्रेसको ठहर छ। यद्यपि, सरकारको यस कमजोरीलाई भ्रमणको विषयवस्तुसँग जोडेर नहेर्ने र राष्ट्रिय हित तथा भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो साथ स्पष्ट र अटल रहने कांग्रेसले स्पष्ट पारेको छ।

भ्रमणलाई क्षणिक लोकप्रियता वा तात्कालिक प्रचारमा मात्र सीमित नराखी विगतका प्रतिबद्धताहरूको कार्यान्वयन, विद्यमान समस्याहरूको ठोस निदान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा उपयोग गर्न कांग्रेसले सुझाव दिएको छ। भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले नभई नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News