काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्।
प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी रहनेछन्।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ।
भ्रमणअघि प्रधानमन्त्री शाहले रास्वपाका सभापतिसँग भेट गरी भ्रमणका विषयमा विस्तृत छलफल तथा जानकारी गराएका थिए। सो अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका थिए।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धिमा भ्रमण केन्द्रित रहने विश्वास पार्टीले व्यक्त गरेको छ।



