Global College

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा को–को जाँदैछन् ? (३५ सदस्यीय सूचीसहित)

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारतको राजकीय भ्रमणमा जाने ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नामावली तय भएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण टोलीमा दुई मन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकार समूह, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा अधिकारी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकार समूहबाट प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल र स्वकीय उपसचिव (सञ्चार) विनय शाक्य रहेका छन्। त्यस्तै, परराष्ट्रमन्त्रीको सचिवालयबाट प्रेस सल्लाहकार जगदीश्वर पाण्डे र प्रमुख स्वकीय सचिव लोचन पौडेल भ्रमण टोलीमा समावेश छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुवास ढकाल भारत जानेछन्। परराष्ट्र मन्त्रालयबाट सचिव अमृतबहादुर राई, सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी, उपसचिव ललिता सिलवाल, उपसचिव विजयराज तण्डुकार र शाखा अधिकृत मनोज गैरे सहभागी हुनेछन्। यसैगरी, सोही मन्त्रालयको शिष्टाचार महाशाखाबाट शिष्टाचार महापाल कुमारराज खरेल, उप–शिष्टाचार महापाल प्रेमराज गौतम र शिष्टाचार अधिकृत दीपकराज निरौला भ्रमण दलमा रहेका छन्।

अन्य मन्त्रालय तथा निकायअन्तर्गत अर्थ मन्त्रालयबाट सहसचिव अमृत लम्साल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सचिव रुद्रसिंह तामाङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सहसचिव सुनील पौडेल भ्रमणमा जानेछन्। यस्तै, लगानी बोर्ड नेपालको कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डङ्गोल पनि प्रतिनिधिमण्डलमा समेटिएका छन्।

प्रधानमन्त्रीको सुरक्षा टोलीमा प्रमुख पार्श्ववर्ती (एडीसी) प्रमुख सेनानी बालमुकुन्द विष्ट, पार्श्ववर्ती (एडीसी) सेनानी रोशन के.सी., सुरक्षा अधिकृत सेनानी सुशील बानियाँ र सुरक्षा अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल रहेका छन्। सरकारी सञ्चारमाध्यमका तर्फबाट गोरखापत्रकी संवाददाता तारा हमाल ढुङ्गाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमलकुमार बस्नेत र नेपाल टेलिभिजन (एनटीभी) का छायाँकार (भिडियोग्राफर) अशोककुमार बस्नेत भारत जानेछन्।

NECO

Leave Your Comment

Related News