काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २८७ जाना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १९ गते अपरान्ह साढे १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै चितवनमा ३५९, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, गोरखामा ७२, नुवाकोटमा १८७, धादिङमा ६३, तनहुँमा ३८ र रसुवामा १४० जना गरी कुल १२८७ जनाको शव फेला परेको जनाएको छ।
बाढीमा परी हालसम्म ५,०८३ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन् । विपद्पछि तीव्र पारिएको उद्धार कार्यअन्तर्गत हालसम्म १३,०९३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार र खोजीका लागि मैदानमा नेपाल सेनाका ९,२८७ नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल २१,४२१ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
पहिचान हुन बाँकी शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद् पोर्टल र प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।



