CLI
Global College

भोटेकोशी बाढीको क्षतिपूर्ति समस्या सिर्जना गर्नेले तिर्नुपर्छ : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको क्षतिपूर्ति समस्या सिर्जना गर्ने पक्षले तिर्नुपर्ने बताएका छन् ।

एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै पोखरेलले औद्योगिक राष्ट्रहरूले अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको बताए ।

‘विकसित देशहरूले ठूला–ठूला उद्योग र आणविक भट्टीबाट अत्यधिक कार्बन उत्सर्जन गरे । त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,’ उनले भने, ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्तिको उनीहरूले तिर्नुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्दछ।’

पोखरेलले भोटेकोशी बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एमाले अहोरात्र खटिरहेको दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि राहत तथा उद्धारको कामलाई थप तीव्रता दिइएको उनले बताए ।

‘हाम्रा पार्टीका नेता तथा जनसंगठनहरू बाढी लगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्,’ पोखरेलले भने, ‘राहत सामग्री पीडितसम्म पुर्‍याउने काम पनि हामीले गरिरहेका छौँ।’

उनले सरकारले अघि बढाउने पुनर्स्थापना तथा पुनर्निर्माणका काममा एमालेले सहयोग गर्ने बताए । विगतका विपत्तिमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा हासिल गरेको अनुभवलाई रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्ने उनको भनाइ छ ।

‘एमालेमा विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता–कार्यकर्ताहरू हुनुहुन्छ,’ पोखरेलले भने, ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटका बाढीपीडित क्षेत्रमा प्रयोग गर्छौँ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ।’

 

Leave Your Comment

Related News